काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अमेरिकाले सत्ताबाट हटाएको बताउन भ्याए ।
अध्यक्ष प्रचण्डले अमेरिकी सैन्य साझेदारी कार्यक्रम एसपीपीमा सहमति नजनाएपछि आफूलाई षड्यन्त्रमूलक ढंगले सत्ताच्यूत गरिएको बैठकमा बताएका हुन् । उनले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र आफूलाई एकै ढंगले हटाइएको दाबी गरे ।
प्रचण्डले एसपीपी स्वीकार नगर्दा आफू र अमेरिकी सेनाको बेस राख्न नमान्दा हसिनालाई सत्ताच्यूत गरिएको दाबी बैठकमा पेश गरेका थिए । दक्षिण एसियामा अमेरिकी हस्तक्षेप बढेको भन्दै प्रचण्डले अबका कदम होसियारीपूर्वक चाल्नु पर्ने बताएको बैठकमा सहभागी एक सदस्यले बताए ।
प्रचण्डले कांग्रेस र एमालेको सहकार्य देशभित्रको मात्र परिस्थितिले नभएको दाबी गर्दै चुनाव एक्लै लड्ने गरी तयारीमा रहनु पर्ने बताए ।