माओवादीले फेरि उठायो कार्यकारी राष्ट्रपतिको मुद्दा

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्दा उठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताहरूले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा उठाएका हुन् ।

संविधान निर्माणको बेलामा यस मुद्दामा ‘नोट अफ डिसेन्ट’ लेखेर संविधान घोषणाको बेलामा सहमति भएको माओवादी केन्द्रले पुनः यो मुद्दा उठाउने भएको हो । पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन गर्न खोजेकाले माओवादीले कार्यकारी राष्ट्रपतिसहितको व्यवस्था गर्ने गरी संविधान संशोधनको मुद्दा उठाउने बताए ।

‘हामीले जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा छाडेका छैनौँ, त्यतिबेला संविधान जारी होस् भनेर त्यस मुद्दामा ‘नोट अफ डिसेन्ट’ जनायौँ, अहिले कांग्रेस-एमालेले संविधान संशोधन गर्न खोज्दै छन्, यदि संविधान संधोधन गर्ने भए कार्यकारी राष्ट्रपति बनाएर जाऔँ भन्ने हो, यसो भए एउटै सरकार पाँच वर्ष टिक्छ,’ उनले भने ।

यस्तै, प्रवक्ता सापकोटाले पार्टी बलियो बनाउन शुद्धिकरणको अभियान चलाउने बताएका छन् । पार्टीको स्थायी र केन्द्रीय समिति बैठक बसेपछि सडक र सदनलाई बलियो बनाउन सकिने उनको भनाइ थियो । बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ । बैठकमा सबै नेताहरूले २० मिनेट बोल्न पाउने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार