डोरी बेचेरै परिवारको जीविका चलाउछन् असी वर्षीय बन्धु राना

0 Shares
काठमाडौँ ।  शुक्लाफाँटा नगरपालिका ६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ । उनले तन्नेरी झैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा तीस हजार बढी आम्दानी गर्दै आएको छ । बजारमा सिमेन्ट राख्न प्रयोग भएका खालि बोरीहरु खरिद गरी उनले त्यसको धागो निकाली त्यसबाटै डोरी बाटने९बनाउने० गरेका छन ।
डोरी बलियो र देख्नमा आकर्षक हुने भएकाले ग्राहकले सहजै किन्ने गरेका छन । एउटै डोरी दुई सय देखि पाँच सय रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । “घरमै बसेर डोरी तयार गर्छौ” उनले भने, “तयार भएको डोरी काँधमा बोक्दै गाउँ गाउँ पुरयाएर बिक्री गर्दै आएको छु ।”
दैनिक एक हजार रुपैयाँ जतिको डोरी बिक्री हुने गरेको उनले बताए । डोरी बेच्नकै लागि विहानीको खाना खाएर गाउँ चहार्दै हिडने राना साँझ अवेर मात्रै घर फर्कने गर्दछन । डोरीमा रानाले छडकी, वरहा, घाँस बोक्ने जाल, मुखडा, नाथ लगायत बनाउने गर्दछन । सबै भन्दा बढी बिक्री हुने डोरीमा छडकी रहेको छ ।  गाई गोरु बाध्नका लागि प्रयोग हुने छडकीको ग्राहकले बढी माग गर्ने रानाले बताए ।
डोरी बनाउन रानाले २० वर्षको उमेरमै सिकेका हुन । “धेरै परिवार हँदा आर्थिक अभाव सधैं भैरहन्थ्यो” उनले भने, “त्यै भएर लेखपढ गर्ने अवसर पाउने कुरै भएन, त्यस बेला लेखपढ पर्ने खासै चासो पनि हुँदैनथ्यो, गोठालो जान्थे, अरुले डोरी बनाएको देखेर त्यसबाटै सिके । पहिला बावियो, सनपाट, जुटको डोरीको प्रयोग बढी हुने गरेको थियो । खेतवारीमै डोरीका लागि जुट, सनपाटको खेती किसानले प्रशस्त रुपमा गर्दथे । जव देखि बजारमा प्लाष्टिका डोरी आए त्यस पछि किसानले जुट र सनपाटको खेती गर्ने कार्य छाडे । ” जुट र सनपाटको खेती हुन छाडेपछि विकल्पमा प्लाष्टिका बोरीहरु खरिद गरी त्यसबाटै डोरी बनाउने कार्य थालेको उनले बताए ।
व्यवसायीक रुपमा डोरी बनाएर बिक्री गर्ने कार्य ४० वर्षको उमेर पछि गर्न थालेको उनको भनाई रहेको छ । घरमा कोही विरामी परे, पैसाको अत्यन्तै जरुरी परेका बेला परिवारलाई उनले सहयोग गर्छन् । विवाह गरेको दुई वर्षमै श्रीमतीको देहवसान भएपछि रानाले दोश्रो विवाह भने गरेको छैन । जेठो दाजुको घरमा  बस्दै आएको छ । डोरी बेचेकै पैसाले रानाले जेठो दाजुको छोराका लागि मोटरसाइकल खरिद गरिदिएका छन् । “मोटरसाइकल किन्न थोरै रकम मैले जुटाए” डुठ्ठा रानाले भने, “दुई लाख रकम डोरी बेचेर आएको रकम बाजेले व्यहोरे ।” परिवारलाई आवश्यकता परेका बेला उनले आर्थिक सहयोग गर्दानै परिवार चलाउन सहज भएको डुठ्ठाको भनाइ रहेको छ । “घरमा ठुलो काम गर्दा लाग्ने पैसा उनले नै र्दिएका छन्” उनले भने, “स–सानो काममा भने पैसा दिन कञ्जुस्याइ गर्छन् । उमेर छदा डोरी बेचेर महिनामै ५०÷६० हजार रुपैयाँ सम्म पनि कमाउथे, उमेर ढल्कीदै जाँदा कमाइ पनि घटेको छ, ।”
घर खर्च संगै आफुलाई आवश्यक भएको लुगाफाटो,जुत्ता,चप्पल, औषधपचार लगायतको खर्च डोरी बेचेर आएको रकमबाटै व्यहोर्दै आएको छ । आफुलाई चाहिने खर्च अरु संग मागेको अहिले सम्म नदेखेको डुठठा बताए । “हामीले आपतविपत परेका बेला उहाँ संग पैशा माग्छौं उनले अहिले सम्म हामी संग पैशा माग्नु भएको छैन” उनले भने ।  पूर्व वडा अध्यक्ष जगता राना  पौरख गरेर खाने स्वावलम्बी व्यक्तिका रुपमा आफुले बन्धुलाई चिनेको बताए ।  उनी भन्छन् ,“व्यवसायीक कार्यलाई निरन्तर गरे पैसाका लागि अन्यको मुख ताक्नु नपर्ने पाठ उहाँबाट आजका युवाहरुले सिक्नु पर्ने हुन्छ ।”

सम्बन्धित समाचार