काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म ७ हजार ५ सय १४ जनाको उद्धार गरिएको नेपाल सरकारले जनाएको छ।
सरकारका अनुसार रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा आएको बाढीबाट हवाई तथा स्थलमार्गमार्फत प्रभावित नागरिकको उद्धार गरिएको हो। जसमध्ये विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको उद्धार भइसकेको छ भने अन्य क्षेत्रमा नेपाली सेनाले उद्धार कार्य जारी राखेको जनाएको छ।
उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग गरिएको छ। हालसम्म २३६ वटा उडान भरिसकेको र प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन गरिएको सरकारले जनाएको छ।
प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाका कारण उद्धारमा कठिनाइ भइरहेको भए पनि थप सुरक्षाकर्मी र हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। उद्धार कार्यमा भारतीय र चिनियाँ विज्ञसमेत नेपाली सेनासँगको समन्वयमा खटिएका छन्।
६७५ शव फेला
बाढी प्रभावित रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा तथा नवलपरासी पूर्व र पश्चिमका विभिन्न स्थानबाट हालसम्म ६७५ शव फेला परेका छन्।
सरकारले पहिचान भएका शव परिवारलाई जिम्मा लगाउने र पहिचान हुन नसकेका शवलाई डीएनए तथा अन्य पहिचानका आधार सुरक्षित राखेर प्रचलित निर्देशिकाअनुसार व्यवस्थापन गर्ने जनाएको छ।
१८ वटा शिविर, ३ हजार ५ सय विस्थापितलाई अस्थायी आवास
बाढी प्रभावित नागरिकका लागि रसुवामा ३ र नुवाकोटमा १५ वटा शिविर स्थापना गरिएको छ। करिब ३ हजार ५ सय विस्थापित नागरिकलाई विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था मिलाइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ।
प्रधानमन्त्री राहत कोषमा ५ अर्बभन्दा बढी रकम
प्रधानमन्त्री राहत कोषमा आज मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको सरकारले जनाएको छ। साथै, हिमालयन र लक्ष्मी बैंकमा १८ लाख ८ हजार १८९ अमेरिकी डलर पनि जम्मा भएको छ।
सरकारले विपद्को नाममा हुन सक्ने वित्तीय ठगीबाट बच्न प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषका आधिकारिक खाता तथा सरकारले सार्वजनिक गरेको क्युआर कोडमार्फत मात्र आर्थिक सहयोग गर्न आग्रह गरेको छ।
अन्तर्राष्ट्रिय सहयोग पनि जुट्दै
प्रभावित क्षेत्रको व्यवस्थापन र पुनःस्थापनाका लागि एशियाली विकास बैंकबाट ५ मिलियन अमेरिकी डलर अनुदान, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा तथा अमेरिकी र अष्ट्रेलियाली सरकारबाट आर्थिक सहयोगको प्रतिबद्धता आएको छ।
भारतबाट तीन चरणमा ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। चीन र अमेरिकाबाट पनि सहायता आउने क्रम जारी रहेको सरकारले जनाएको छ।
सञ्चार र सडक सञ्जाल पुनःस्थापना हुँदै
बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बीटीएस टावर अवरुद्ध भएका थिए। हाल नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर सञ्चालनमा आइसकेका छन्।
यस्तै, काठमाडौं–टोखा–छहरे हुँदै धुन्चे पुग्ने वैकल्पिक सडक मर्मत गरी चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालनमा ल्याइएको छ। गल्छी–मलेखु सडकखण्डबाट लेदो हटाएर पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा ल्याइएको सरकारले जनाएको छ।
सरकारले प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुनःस्थापना र सञ्चार तथा सडक सेवा पुनःस्थापनाका कार्य नतिजा नआएसम्म निरन्तर जारी राख्ने जनाएको छ।