काठमाडौं । नेपालको संविधान भाग १३ मा प्रदेश कार्यपालिका गठनको व्यवस्था छ। जस अन्तर्गत धारा १६८ मा प्रदेश मन्त्रिपरिषद् गठनबारे व्याख्या गरिएको छ । १६८ (९) मा प्रदेश सभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्रीसहित प्रदेश सभाका कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्ने उल्लेख छ । तर, मधेस प्रदेशले व्यवस्थाभन्दा बाहिर गएर मन्त्रिपरिषद् गठन गरेको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार २० सदस्यीय मन्त्रिमण्डल बनाएर रेकर्ड बनाएका छन् । मुख्यमन्त्री सहित १२ जना मन्त्री र आठ राज्य मन्त्री बनाएका छन् ।
मुख्यमन्त्री सिंहले मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा एमाले, जनमत पार्टी र लोसपाबाट एक–एक राज्यमन्त्री थपेर सातै प्रदेशबाट रेकर्ड तोडेका छन् । कुल १०७ सांसदबाट मन्त्री मात्रै २० जना पुगेका छन् । प्रदेशहरुले भागवण्डा पु¥याउनकै लागि जम्बो मन्त्रिमण्डल बनाउदा संघीयता नै बदनाम हुन पुगेको छ ।