काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) नयाँ गठबन्धनमा सामेल हुने कि नहुने अन्योलमा देखिएको छ।
नेकपा माओवादी, नेकपा (एमाले), रास्वपा र जसपासहित नयाँ गठबन्धनबाट आज सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ। तर एकीकृत समाजवादीले अहिलेसम्म सरकारमा जाने वा नजानेबारे केही निर्णय गरिसकेको छैन।
पार्टीले सचिवालय बैठक बोलाएको छ।
महासचिव घनश्याम भूसालले आज अपराह्न ३ बजे सचिवालय बैठक बस्ने जानकारी दिए। ‘हामीले नयाँ राजनीतिक घटनाक्रमलाई सतर्कतापूर्वक हेरिरहेका छौं, यो गठबन्धन कसरी बन्छ, कुन-कुन पार्टी सहभागी हुन्छन् र यसको नीति के हुन्छ भन्ने आधारमा हामी निर्णय गर्छौं,’ भूसालले भने, ‘हाम्रो राजनीति, नेताहरू र राजनीतिक उतारचढावका आधारमा यो अन्तिम गठबन्धनचाहिँ होइन।’
अध्यक्ष माधवकुमार नेपाललाई बिसञ्चो भएकोले सचिवालय बैठक कोटेश्वरस्थित उनकै निवासमा बस्नेछ। गए राति बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुँदा एकीकृत समाजवादीबारे पनि कुराकानी भएको थियो।
‘माधवकुमार नेपालले चाहेमा यो गठबन्धनमा रहन सक्ने र समाजवादीका लागि पनि मन्त्री छुट्याउन सकिने समझदारी बनेको थियो,’ स्रोतले भन्यो, ‘यदि उहाँले निहुँ खोज्नुभयो भयो समाजवादी पनि गठबन्धनमा रहन मुस्किल छ।’
प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्।