त्रिशूलीमा बेपत्ता यात्रु र बसको खोजी जारी, पत्ता लाग्न सकेन कुनै जानकारी

0 Shares

काठमाडौं । चितवनको भरतपुर महानगर २९ स्थित नारायणगढ-मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा बेपत्ता यात्रु र दुई वटा बस ११ औँ दिनसम्म खोजी जारी रहेको छ ।

गृहको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छिमेकी राष्ट्र भारतको ‘राष्ट्रिय आपदा मोचन बल-नेशनल डिजास्टर रेष्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोली नेपाल आएर संयुक्त रूपमा उद्धार जारी राखेको जानकारी दिएको छ ।

प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले शनिबार चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी कार्य सुरु भएको जानकारी दिए ।

आइतबार बिहान ८ः४५ बजेदेखि सोनार क्यामरासहित खोजी कार्य थालेको संयुक्त टोलीले सिमलतालदेखि घुमाउनेसम्म साढे तीन किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिब १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको उनको भनाइ थियो ।

प्राधिकरणले आज एक विज्ञप्ति जारी गरी विपद्को विषम अवस्थामा दक्ष प्राविधिकको टोली पठाइ खोजी कार्यमा सहयोग उपलब्ध गराएकोमा भारत सरकार र खोजी कार्यमा संलग्न उद्धारकर्ताप्रति धन्यवाद दिएको छ ।

उक्त दुःखद् घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएको छ । भेटिएका शवमध्ये दुई वटा भारतीय भूमिमा भेटिएका हुन् । हालसम्म १८ वटा शव सनाखत भई परिवारको जिम्मा लगाइएको छ ।

सनाखत भएका शवमा १६ वटा पुरुषको छ भने दुई वटा महिलाको छ । त्यस्तै, सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् । पाँच वटा भारतीय नागरिकका रहेको प्राधिकरणले जनाएको छ ।

 

सम्बन्धित समाचार