वारी प्रचण्ड-पारी ओली, हेराहेर गरे मिसिएन बोली

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिए । आफ्नै समर्थनमा प्रधानमन्त्री बनाएका पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिपक्षी बनाउन सफल भएका ओली कांग्रेसको समर्थनमा सत्तामा पुगेका हुन् ।

सत्ता पक्षमा दुई ठूला दल कांग्रेस र एमालेसहित केही दल बस्दा प्रतिपक्षीको भूमिकामा नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू बसे ।

बैठकमा प्रधानमन्त्री ओली र निवर्तमान प्रधामन्त्री प्रचण्ड नजिकै बसे । तर, संसदमा उनीहरूको भूमिका फरक थियो । ओली सत्ता पक्षमा हुँदा प्रचण्ड प्रतिपक्षी बेञ्चमा थिए । ओली उपप्रधानसहित शहरी मन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग बसेका थिए । प्रचण्डको साथमा जनार्दन शर्मा थिए ।

गत असार १७ गतेसम्म ओली र प्रचण्ड दुवै नेता सत्ता पक्षका थिए । ओलीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले अस्वभाविक रुपमा पद गुमाउँदा प्रतिपक्षीको भूमिकामा पुगे ।

नयाँ प्रधानमन्त्री अ‍ोलीले विश्वासको मत लिन राखिएको संसद बैठकमा ओली र प्रचण्ड नजिकै भए पनि बोल्न चाहेनन् । दुई नेताहरू एकअर्कालाई हेरिरहे । बैठक बसिरहँदा अ‍ोली बीचमै निस्किएर हिँडे । उनी बाहिर गएपछि संसदमा उनको खोजी भएको थियो ।

‘सर्वप्रथम त प्रधानमन्त्री नियुक्त हुनुभएकोमा केपी शर्मा ओलीलाई औपचारिक रूपमा बधाई ज्ञापन गर्न चाहन्छु, मैले प्रधानमन्त्री ज्यूलाई देखिरहेको छैन, उहाँले आफ्नो विश्वासको निम्ति मत मागिरहनु भएको छ, तर उहाँ यो हलबाट बेपत्ता हुनुहुन्छ,’ अध्यक्ष माधव नेपालले भने, ‘उहाँले संसदलाई महत्त्व नदिएको लाग्यो, उहाँका लागि महत्त्वपूर्ण कुरा भनेको आजको सदनमा आजको पूरा समय उपस्थिति आवश्यक थियो ।’

प्रधानमन्त्री ओली प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन बोल्नुअघि नै हिँडिसकेका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गरेका थिए ।

उनीहरूले पनि ‘प्रधानमन्त्रीले कतैबाट सुनिरहनु भएको होला, उहाँलाई बधाई दिन चाहन्छु’ भन्दै आफ्नो सम्बोधन सुरु गरेका थिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाएसँगै प्रचण्डले औपचारिक रुपमा हात मिलाएर बधाई दिएका थिए । यसअघिसम्म उनीहरूले हेराहेर मात्रै गरेका थिए ।

सम्बन्धित समाचार