औषधि पसलबाट लागुऔषध कारोबार, युवती पक्राउ

0 Shares

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो ।

पोखरा महानगर २६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्कीसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार बुधबार लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले औषधि पसलमा जाँच गरेको थियो ।

प्रहरीका अनुसार औषधि पसल सञ्चालिका ढुङ्गानाका साथबाट कोडिप-पी (कोडिन) छ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद गरिएको छ ।

‘लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मारेका थियौँ, सोही क्रममा ठूलो परिणामको लागुऔषध फेला पर्यो, औषधि बिक्री तथा वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै लागुऔषधजन्य औषधि ठूलो परिमाणमा बरामद हुनुले औषधिको बिक्री, वितरण र प्रयोगको नियमन तथा अनुगमन प्रभावकारी हुनुपर्ने आवश्यकतालाई उजागर गरेको छ,’ प्रनाउ पासवानले भने ।

पक्राउ परेकी औषधि पसलका सञ्चालिका माथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । पोखरामा यसअघि पनि विभिन्न समयमा फार्मेसीबाटनै लागुऔषधको कारोबार हुने गरेको फेला परेको थियो ।

प्रहरीले त्यस्ता औषधि पसल सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी कारवाही अघि बढाउने गरेको थियो ।

सम्बन्धित समाचार