काठमाडौं । अघिल्लो शुक्रबार बिहान ३ बजे एकसाथ त्रिशूली नदीमा दुई बस खसेर बेपत्ता भए । बसमा सवार ६५ यात्रु पनि नदीमा खसे । जसमध्ये तीन जना भाग्यले बाँचे । उनीहरूले नयाँ जीवन पाउँदा बाँकी बेपत्ता भए ।
चितवनको भरतपुर महानगर २९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा भएको दुर्घटना आज आठौँ दिन पुगेको छ । यतिका दिनसम्म पाँच सयभन्दा बढी सुरक्षाकर्मीले खोजी गरिरहेका छन् । तर, २३ जनाको शवबाहेक बाँकी कुनै पत्तो लाग्न सकेको छैन ।
दुर्घटनामा बेपत्ता भएकामध्येकी एक हुन्, बारा कलैया उपमहानगर १४ निवासी २६ वर्षीया सृष्टि यादव । उनी सवार बसका यात्रुहरूको शव फेला पर्न थालेका छन् । तर, उनीको कुनै जानकारी छैन ।
रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरमा कार्यरत उनी परिवारको भरोसा बन्दै आएकी थिइन् । यसैबीच जापान जान परीक्षाका लागि उनी वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३(००६ ख १५१६ नम्बरको एञ्जल बसमा चढेकी थिइन् ।
बस त्रिशूलीमा बेपत्ता भएको आठ दिन हुँदासम्म केही पत्तो लाग्न नसकेपछि परिवारले सृष्टिको प्रतिमाका रुपमा कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । लामो सयमसम्म फेला नपरेपछि परिवारले शुक्रबार कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।
सृष्टिका अभिभावकले कुशको शव बनाएर पसाहा खोलामा दाहसंस्कार गरेका छन् । शव फेला नपरेपछि धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको उनका बुबा जगदीश यादवले जानकारी दिए । यसअघि जगदीश दुर्घटना स्थलमा पुगेर छोरीको खोजी गरेका थिए ।
उक्त घटनामा बाराका चार जना यात्रु परेका थिए । सृष्टिसँगै प्रसौनी गाउँपालिका २ का ताराचन्द कुर्मी, उनकी पत्नी कुसुवदेवी र बारा बिश्रामपुर ३ का प्रमानन्द पण्डित बेपत्ता छन् ।
शव फेला पर्ने अवस्था नभएपछि कुर्मीको परिवारले पनि कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका थिए ।
यो पनि पढ्नुहोस्