काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू विजयी मुडमा सरकारबाट बाहिरिएको बताएका छन् । निजी निवास खुमलटारमा नेता तथा कार्यकर्तासँग भेट गर्ने क्रममा उनले आफूहरू सरकारबाट बाहिरिँदा उत्साहित भएको बताए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफू नेतृत्वको सरकारले देशमा सुशासनको काम गरेको दाबी गर्दै संसदका दुई ठूला दल डराएर गठबन्धन गरेको दाबी गरे । यस क्रममा उनले माओवादी सरकार हुँदा गरेको राम्रो कामलाई प्रचार गर्नु पर्ने आवश्यक रहेको बताएका थिए ।
‘हामी सरकारबाट बाहिरिँदा विजयी मुड र विना दाग निस्किएका थियौँ, देश र दुनियाँलाई अपिल गर्दै निस्किएका थियौँ,’ प्रचण्डले भने, ‘तपाईंहरू सबैले आत्मसम्मान गरेको सहसुस गरेँ, हामीले सुशासन र सामाजिक न्याय पक्षमा काम गर्दागर्दै, समृद्धि र राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धनमा काम गरिरहँदा, संसदमा भएका दुई ठूला पार्टी अप्राकृतिक रुपमा मिले ।’
यस क्रममा उनले प्रायः संसदका ठूला दल मिल्ने नगरेको दाबी गरेका थिए ।’यो सब डर र त्रासले मिलाएको हो, सुशासन कायम गर्ने सवालमा उनीहरूमा डर पैदा भयो, सरकारमा हुँदा गरेको कामले संगठन निर्माणमा आधार भनेको छ,’ उनले भने ।
प्रचण्डले संसदमा बोलेको कुरालाई जनताको बीचमा लैजानु पर्ने आवश्यक रहेको बताएका थिए । देशलाई प्रतिगमनतिर लैजाने काम भएको भन्दै सबै सचेत हुनु पर्ने उनको भनाइ थियो ।
‘देशलाई प्रतिगमततिर फर्काउने दुत्साह देखिएको छ, परिवर्तन उल्टाउन सक्ने र निरकुशंतातिर लैजान खोजिरहेको छ, यसविरुद्ध हामीले हुङ्कार गर्नु पर्ने छ, जनताको वैरीहरू मिलेर अधिकार खोस्ने प्रयास भइरहेको छ, अब जनताको पनि जिम्मेवारी रहेको छ,’ उनले भने ।