काठमाडौं । चितवनको भरतपुर महानगर २९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार तीमध्ये १४ शवको सनाखत भएको छ । बाँकी पाँच जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले आजसम्म १९ जनाको शव फेला परेको र बाँकीको खोजी कार्य जारी रहेको जानकारी दिए ।
गत शुक्रबार बिहान भरतपुर सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नं को एञ्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नं को गणपती डिलक्सको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए ।
दुवै बसमा गरी ६५ यात्रु रहेको थिए । बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ताले हाम फालेर ज्यान जोगाएका थिए ।
अहिलेसम्म सनाखत हुनेमा भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरी रहेका छन् ।
यस्तै, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ ।