काठमाडौँ । १६औं संस्करणको ‘नाडा अटो शो २०२४’ आगामी भदौ ११ देखि १६ गतेसम्म हुने भएको छ । जसका लागि आवश्यक स्टल बुकिङको काम सकिएको अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा) ले जानकारी दिएको छ ।
आयोजक नाडाले अटोमा भाग लिने कम्पनीहरूका लागि प्रि–स्टल बुकिङ्ग जेठ ३१ गतेदेखि खुला गरेको थियो । लगभग सबै कम्पनीहरुले स्टल बुकिङ्ग गरिसकेको नाडाका उप–सभापति पुस्कर ओझाले जानकारी दिए ।
उनका अनुसार २३वटा स्टल चार पाङ्ग्रेको, १५ ओटा स्टल दुईपाङ्ग्रेको, १३ ओटा स्टल कमर्सियलको, २७ ओटा स्टल हेभी इक्युमेन्टका सेग्मेन्टहरुको र ५ ओटा स्टल बैंकको रहने छ । पार्किङ्ग सुविधालाई व्यवस्थित गर्न गत वर्ष जस्तै यसवर्ष पनि नाडाले भृकुटीमण्डप बाहिरका क्षेत्रहरूलाई लिने उनले बताए ।
विगतका शोहरुमा जस्तै यस वर्ष पनि नाडा अटो शोमा विभिन्न ब्राण्डका दुईपाङ्ग्रे, चार पाङ्ग्रे तथा हेभी कमर्सियल गाडीका सेग्मेन्टसँगै विभिन्न अटोमोबाइल कम्पोनेन्ट, टायर, ट्युव, लुब्रिकेन्ट तथा एसोसरिजका स्टलहरू रहने उनको भनाइ छ ।
साथै, अटो शोमा सहभागि हुनका लागि टिकट अनिवार्य गरिने आयोजकले बताएको छ । टिकटको मूल्य भने अहिले सार्वजनिक गरिएको छैन ।