समाज लघुवित्तको सेयर मूल्यमा लाग्यो ब्रेक

0 Shares

काठमाडौं । करिब दुई सातायता निरन्तर उकालो लागिरहेको समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आइतबार ब्रेक लागेको छ । आइतबार कम्पनीको सेयर मूल्य २१७.६० रुपैयाँले घटेर प्रतिकित्ता १९५८.७० रुपैयाँमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १० प्रतिशत घटी हो ।

गत बिहीबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २१७६.३० रुपैयाँ पुगेको थियो । यद्पि यो अधिकतम मूल्य भने होइन । गत साउन १ गतेदेखि दोश्रो बजारमा प्रवेश गरेको कम्पनीको सेयर मूल्य गत माघ १४ गते आइतबारदेखि भने निरन्तर उकालो लागिरहेको थियो । बजारमा प्रवेश गर्दा प्रतिकित्ता ७२.१० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य माघ ११ गतेसम्म आइपुग्दा प्रतिकित्ता ४१८.३ रुपैयाँ पुगेको थियो । र, माघ १४ गतेको बजारमा कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ४४३.८ रुपैयाँ पुगेको थियो ।

त्यसपछिको बजारमा भने कम्पनीको सेयर मूल्य एकाएक बढ्न थाल्यो । र, माघ २४ गतेदेखि फागुन १० गतेसम्म निरन्तर सकारात्मक सर्किट लागेको देखिन्छ । माघ २४ गते ७६३ रुपैयाँबाट कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य फागुन १० गतेसम्म पुग्दा प्रतिकित्ता २१७६।३ रुपैयाँसम्म पुगेको थियो । यससँगै उक्त १० दिनको अवधिमा कम्पनीको सेयर मूल्य प्रतिकित्तामै एक हजार ४१३ रुपैयाँले बढेको देखिन्छ ।

तर आइतबार अर्थात फागुन १३ गतेको बजारमा भने कम्पनीको सेयर मूल्य घट्यो । दिनभरको कारोबारमा कम्पनीको सेयरमूल्यमा तीव्र उतारचढाव देखिएको थियो । प्रतिकित्ता २ हजार २१९.८० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता २३९३.९० रुपैयाँसम्म पुगेको थियो । जुन कम्पनीको सेयरको अधिकतम मूल्य थियो । तर, उक्त उचाई केही समयपनि टिक्न सकेन र बजार बन्द हुँदासम्म घटेर प्रतिकित्ता १९५८.७० रुपैयाँमा झर्यो ।

आइतबार संस्थाको एक करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरमा संस्थाको ७ हजार २४१ कित्ता सेयर ४७१ पटकमा खरिद बिक्री भएका छन् ।

सम्बन्धित समाचार