धादिङ । काठमाडौं प्रवेश गर्न राजमार्ग चितवनको मुग्लिङदेखि मलेखु सडक खण्डको १६ स्थानमा पहिरोको जोखिम रहेको पहिचान भएको छ । नागढुङ्गा-मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ४० किलोमिटर क्षेत्रमा १६ स्थानमा पहिरोको जोखिम रहेको हो । चार स्थानमा उच्च जोखिम छ ।
नागढुङ्गा-मुग्लिङ सडक योजनाका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार पृथ्वी राजमार्गको कृष्णभिर, घोप्टेभिर, जोगीमारा र फिसलिङ उच्च जोखिम रहेको छ ।
पृथ्वी राजमार्गमाथिको पहाडमा बिनाअध्ययन खोतलेर छाड्ने, कुलो निर्माण गर्ने र पानीको प्राकृतिक बहावलाई परिवर्तन गरेर बिगारेकाले राजमार्गमा पहिरोको जोखिम बढेको इन्जिनियर आचार्यको भनाइ छ ।
नागढुङ्गा-मुग्लिङ सडक योजनामा गरिएको अध्ययनले पहिरो जाने मूल कारणले माथिल्लो क्षेत्रमा निर्माण गरिएको सडक, कलभर्ट र कुलो भएको निष्कर्ष निकालेको छ ।
प्राकृतिक पहिरो अहिले आएको छैन । मानव निर्मित बाटो र त्यसमा खनिएका गेग्य्रान थुप्रेर बस्ने, वर्षा भएपछि एकै पटक झरेर ठूलो हुने गरेको छ । वर्षा लागेपछि मुग्लिङ-मलेखु सडक खण्डमा गएको पहिरोमा गेग्य्रान मात्र झरेको छ ।
डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनिएर सागर कार्कीले सिमलतालको पहिरो जानुको मूल स्रोत माथि ग्रामीण बस्तीको बाटो खन्दा निस्केको गेग्य्रान भएको बताए ।
“सिमलतालमा पहिरो जानुको कारण नौ सय मिटरमाथि निर्माण गरिएको सडकको गेग्य्रान झरेको हो, ६५० मिटरको सडक निर्माण गर्दा छ वटा मोड रहेछ, त्यो मोडबाट गेग्य्रान झरेको देखियो,” उनले भने, “माथिबाट तल डोजरले सडक खन्दै आउने, खन्दा निस्केको गेग्य्रान झाँडी तथा तल पर्ने खोल्सामा फाल्ने गरेको पाइयो, यसरी थुप्रेको गेग्य्रान वर्षा भएपछि एकै पटक तल झर्दा ठूलो असर पारेको देखिन्छ ।”