काठमाडौं । नारागणगढ-मुग्लिन सडक खण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरासँगै खसेको दुई बस र यात्रुको अवस्था अज्ञात छ । गत शुक्रबार भएको घटनामा पाँच दिनसम्म केही पत्ता लाग्न नसकेपछि सरकारले अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउन लागेको छ ।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालले भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको जानकारी दिए ।
घटना भएको पाँच दिन बितिसक्दा गाडीको अवस्था पत्ता लाग्न नसकेकाले अन्तर्राष्ट्रिय विज्ञ टोली मगाएर खोजी गर्न लागिएको बताएका हुन् । गृह मन्त्रालयका अनुसार अहिले पाँच सय सुरक्षाकर्मी परिचालन गरेर नेपालमा भएका सबै प्रविधिको प्रयोग गरी खोजी भइरहेको छ ।
असार २८ गते शुक्रबार बिहान ३ बजे वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरासँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए । ६२ जना बेपत्ता भएका थिए । अहिलेसम्म १४ जनाको मात्रै शव विभिन्न क्षेत्रमा स्थानमा भेटिएको छ । अझै ४८ जना यात्रु र दुई बस बेपत्ता रहेका छन् ।
बसको चलानमा उल्लेख भएको र आफन्तबाट प्राप्त जानकारीअनुसार एञ्जल बसमा ३८ र गणपति डिलक्समा २७ जना यात्रु रहेको खुलेको छ ।