काठमाडौं । चितवनको भरतपुर २९ सिमलतालमा गत शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौ वटा शव भेटिएका छन् । योसहित हालसम्म १३ वटा शव भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले आज मात्रै जिल्लामा चार वटा शव भेटिएका जानकारी दिए ।
नवलपुरमा हालसम्म भेटिएका नौ शवमध्ये पाँचको पहिचान खुलेको र ती बेपत्ता बसका यात्रु रहेको पुष्टि भएको उनको भनाइ थियो । सोमबार थप चार वटा शव भेटिएका थिए । ती शवको पहिचान हुन सकेको छैन । शव पहिरोमा परेर बेपत्ता भएका यात्रुको हुन सक्ने भन्दै सोहीअनुसार अनुसन्धान अगाडि बढाइएको छ ।
आज बिहान गण्डक ब्यारेज पुलमा भेटिएका दुई शवमध्ये एउटा करिब १९ वर्षीया महिला र अर्को करिब ३० वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ । यस्तै, मध्यविन्दु २ भुताहास्थित नारायणी नदीको टापुमा भेटिएको शव करिब ४५ वर्षीय पुरुषको तथा विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक ब्यारेजको पुलमा करिब १३ वर्षीय बालकको रहेको पौडेलले जानकारी दिए ।
जिल्लाको गैँडाकोट ७ गैरीमा भेटिएका दुई वटा शवमध्ये एउटा सर्लाहीको बरहथवा नगरपालिका ३ का १९ वर्षीय रमित कसुर माझी र अर्को चितवनको माडी १ का २२ वर्षीय विकास परियारको भएको पौडेलले बताए ।
माझीको शव बुवा रवीन्द्र कुसर र परियारको शव दाजु विजय परियारले पहिचान गरेका थिए । माझी काठमाडौंबाट रौतहट जाने गणपति डिलक्सको बागमती प्रदेश ०३-००१ ख २४९५ र परियार वीरगञ्जबाट काडमाडौं जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बसमा सवार यात्रु भएको जनाइएको छ ।
शनिबार गैँडाकोट ७ गैरीमा भेटिएको शव भारतको बिहार राज्यस्थित बेतियाका ३० वर्षीय सजाद अन्सारी भएको पौडेलले जानकारी दिए । अन्सारी वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्समा सवार यात्रु भएको उनले बताए ।
आइतबार साँझ जिल्लाको विनयी त्रिवेणी गाउँपालिका ७ स्थित ब्यारेजको गण्डक नहरमा भेटिएका दुवै शवको सोमबार बिहान पहिचान भएको छ । गण्डक नहरमा भेटिएकामध्ये एउटा चितवनको भरतपुर २२ का २३ वर्षीय सुदीप विक रहेको बुवा सोमबहादुर विकले पहिचान गरे ।
सुदीप वीरगञ्ज जाँदै गरेको एन्जल डिलक्सका यात्रु थिए । यसैगरी अर्को शव रौटहटको जमुनामाई गाउँपालिका ४ का १७ वर्षीय राहुम मियाँको भएको उनका बुवा इस्लम मियाले पहिचान गरेका थिए । मिया गणपति डिलक्समा काठमाडौंबाट गौर जाँदै थिए ।
पहिरामा परी बेपत्ता भएकामध्ये चितवनतर्फ भारतको सीतामाडी बर्गिनियाका २८ वर्षीय ऋषिपाल साह, भारतकै सीतामाडी बेतियाका ३० वर्षीय जयप्रकाश ठाकुर रहेका छन् । आइतबार नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा भेटिएको शव बाराको साविक विश्रामपुर गाविस ४ का ४३ वर्षीय परमानन्द पण्डितको भएको र अर्का करिब ३५ वर्षीय पुरुषको पहिचान हुन नसकेको जनाइएको छ ।
हालसम्म तीन वटा जिल्लामा भेटिएका १३ वटा शवमध्ये पाँच वटा शवको पहिचान हुन सकेको छैन । पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।
सिमलताल पहिरोमा परेर हराएको वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा कम्तिमा २४ जना र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसमा २७ यात्रु रहेको चितवन प्रशासनले जनाएको छ । बसमा सवार यात्रुमध्ये तीन जना त्रिशूलीमा पौडी खेलेर बाँँच्न सफल भएका थिए ।