सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओ सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । यस्तै कम्पनीले कर्मचारी र म्युचुअल फन्डका लागि १ लाख ५४ हजार २२७ कित्ताका दरले कुल ३ लाख ८ हजार ४५४ कित्ता सेयर सुरक्षित गरेको छ ।
कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । कम्पनीको आईपीओमा आज १३ गतेदेखि फागुन १६ गतेसम्म आवेदन दिनुपर्ने छ । उक्त अवधिमा सबै कित्ता बिक्री नभएमा भने निष्काशन अवधि फागुन २७ गतेसम्म लम्बिने छ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन् ।
न्यूनतम ५० कित्ताको दरले बाँडफाँड हुने कम्पनीको २७ लाख ७६ हजार ७६ कित्ता सेयर आईपीओ भने ५५ हजार ५२१ जनाले मात्र हात पार्नेछन् । सेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी भन्ने बुझिन्छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
कस्तो छ कम्पनी ?
सन् २०१० मा स्थापना भएको कम्पनीले क्लिंकर र सिमेन्टको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको सिमेन्ट उत्पादन क्षमता प्रति वर्ष ४ लाख मेट्रिक टन रहेको छ भने क्लिंकर उत्पादन क्षमता १० लाख मेट्रिक टन रहेको छ ।
कम्पनीले ‘सर्वोत्तम’ ब्रान्डनामबाट ओपिसी र पिपिसी सिमेन्टको बिक्री वितरण गर्दै आएको छ। सर्वोत्तम सिमेन्ट उद्योगमा सौरभ ग्रुपको लगानी छ भने कम्पनीको प्रमोटर शुभश्री जगदम्बा सिमेन्ट हो ।
चालु आर्थिक वर्षमा सर्वोत्तम सिमेन्टको सिमेन्ट उत्पादन क्षमता ७५ प्रतिशत र क्लिंकर उत्पादन क्षमता ८२ प्रतिशत रहने अनुमान गरिएको छ। आव २०८१/८२ मा सिमेनट उत्पादन क्षमता बढेर ८० प्रतिशत र क्लिंकर उत्पादन क्षमता बढेर ८६ प्रतिशत तथा आव २०८२/८३ मा सिमेन्ट उत्पादन क्षमता बढेर ८५ प्रतिशत र क्लिंकर उत्पादन क्षमता बढेर ९० प्रतिशत पुग्ने प्रक्षेपण छ।
चालु आर्थिक वर्ष २०८०/८१ मा सर्वोत्तम सिमेन्टको प्रतिशेयर नेटवर्थ २०७.२२ रुपैयाँ रहने अनुमान छ। यसैगरी चालु आर्थिक वर्ष २०८०/८१ मा सर्वोत्तम सिमेन्टको प्रतिशेयर आम्दानी (ईपीएस) १७.८२ रुपैयाँ रहने अनुमान गरिएको छ भने आव २०८१/८२ मा ईपीएस २२.११ रुपैयाँ र आव २०८२/८३ मा २५.४९ रुपैयाँ कायम हुने कम्पनीको प्रक्षेपण छ। आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीको जगेडा कोषमा ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।