पहिरो खसेपछि देशका यी सडकहरू अवरुद्ध, खुलाउने प्रयास हुँदै

0 Shares

काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि कर्णाली राजमार्ग, वीपी राजमार्ग र तानसेन-तम्घास सडक खण्ड प्रभावित भएको हो ।

पहिरोका कारण कर्णाली राजमार्गअन्तर्गत कालिकोट सडक खण्ड अवरुद्ध भएको छ । कालिकोटको हुल्म बजारलगायतका तीन ठाउँमा पहिरोले अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि सुर्खेत जुम्लाका लागि छुटेको सवारी साधन बाटोमा रोकिएका छन् । बाटो खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका २ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका ६ अक्करेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्गसमेत अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ ।

यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोको कारण शनिबार बिहानैदेखि सडक अवरुद्ध बनेका छन् ।

कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाइएको छ । अन्य स्थानको पहिरो हटाउन भने केही समय लाग्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार