नबिल बैंकलाई दोस्रो पटक ‘साफा मेरिट अवार्ड’, वित्तीय पारदर्शिता र सुशासनमा उत्कृष्टता

0 Shares

काठमाडौं । नबिल बैंकले दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) बाट ‘साफा मेरिट अवार्ड’ प्राप्त गरेको छ। बैंकले सन् २०२४ को वार्षिक प्रतिवेदनका आधारमा उक्त सम्मान प्राप्त गरेको हो।

बैंकका अनुसार यो सम्मान वित्तीय पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनप्रतिको निरन्तर प्रतिबद्धताको मूल्यांकन हो। यसले नेपाली बैंकिङ क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको विश्वसनीयता र व्यावसायिक उत्कृष्टतालाई समेत प्रतिबिम्बित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद उपाध्यायले बताएका छन्।

नबिल बैंकले यसअघि पनि आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदनका आधारमा निजी क्षेत्र बैंकिङतर्फ साफा मेरिट अवार्ड प्राप्त गरेको थियो। दोस्रो पटक प्राप्त यो सम्मानले बैंकको वित्तीय प्रतिवेदन, पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई थप पुष्टि गरेको छ।

बैंकले वार्षिक प्रतिवेदनमार्फत वित्तीय अवस्था, कार्यसम्पादन, व्यावसायिक रणनीति, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, दिगोपना तथा सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधिलाई पारदर्शी रूपमा प्रस्तुत गर्दै आएको जनाएको छ।

यसअघि नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट पनि उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डअन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको थियो। राष्ट्रिय तथा क्षेत्रीय स्तरमा प्राप्त यी सम्मानले बैंकको प्रतिवेदनको गुणस्तर र पारदर्शितालाई थप मान्यता दिएको बैंकको भनाइ छ।

चार दशकभन्दा लामो बैंकिङ इतिहास बोकेको नबिल बैंकले नवीन प्रविधि, आधुनिक सेवा र ग्राहककेन्द्रित अभ्यासमार्फत नेपाली बैंकिङ क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ। डिजिटल बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको बैंकले ‘एनबैंक’मार्फत सहज, सरल र पहुँचयोग्य सेवा उपलब्ध गराउँदै आएको छ।

हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३८५ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले वित्तीय समावेशिता, आर्थिक अवसरको विस्तार र दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार