आजदेखि पृथ्वी राजमार्ग दैनिक पाँच घण्टा बन्द, घोप्टेभिरको सडक खुल्यो

0 Shares

चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । तुइन खोलामा सडकको जोखिमपूर्ण भाग हटाउने काम सुरु भएसँगै आजदेखि अर्को सूचना जारी नभएसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द हुने भएको हो ।

सडक खण्डको तुइनखोलामा पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउने काम गर्नुपर्ने भएकाले सवारी आवागमन रोकेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

यसअघि पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नौबिसे सडकखण्डको घोप्टेभिरमा सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ । गत मंसिर ५ गतेदेखि शनिबार दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो । पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा सडक सम्याउने काम गरिएसँगै सडक सहज भएको हो ।

पहिरो प्रभावित घोप्टेभिरमा सडक व्यवस्थापन तथा यातायात आवागमन सहज बनाउन प्रहरी टोली अहिले पनि निरन्तर खटिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले प्रहरी टोली सवारी आवागमन व्यवस्थापन, यात्रुको सुरक्षा तथा सम्भावित जोखिम न्यूनीकरणमा सक्रिय रहेको जानकारी दिए ।

घोप्टेभिरमा सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गको मुग्लिन-पोखरा तथा मुग्लिन-काठमाडौं सडक खण्ड पूर्ण रुपमा सञ्चालनमा आएका छन् । सडक बन्द हुँदा दिउँसोको समयमा चितवनबाट काठमाडौं तथा पोखरा आवतजावत गर्ने यात्रु प्रभावित हुने छन् ।

सम्बन्धित समाचार