काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न नौ स्थानमा बृहत् रक्तदान कार्यक्रमसहित विविध सामाजिक उत्तरदायित्वमूलक गतिविधि सम्पन्न गरेको छ।
बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान तथा विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम आयोजना गर्दै आएको छ। सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि २०८३ मंसिर ७ गते देशका विभिन्न स्थानमा एकैसाथ बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको हो।
बैंकको केन्द्रीय कार्यालय रहेको काठमाडौंको बालुवाटारसहित सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो।
उक्त कार्यक्रमबाट कुल ७१३ युनिट रगत संकलन भएको बैंकले जनाएको छ। संकलित रगतले रगतको आवश्यकता परेका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
यसैगरी, बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०८२र८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने नौवटा शाखा कार्यालयलाई पुरस्कृत गरेको छ। वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा कार्यालयका प्रमुखहरूलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको बैंकले जनाएको छ।
त्यस्तै, बैंकले २०औँ वार्षिकोत्सवकै अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने मूल नारासहित मंसिर ५ गते ‘गरिमा रोड रेस २०८३’ को तेस्रो संस्करण पनि सफलतापूर्वक सम्पन्न गरेको थियो।
काठमाडौंमा आयोजित उक्त दौड प्रतियोगितामा एक हजार ४०० भन्दा बढी धावकले उत्साहजनक सहभागिता जनाएका थिए। स्वस्थ जीवनशैली, शारीरिक सक्रियता तथा खेलकुदप्रतिको आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बैंकले जनाएको छ।
खेलकुदमार्फत सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने तथा नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्य प्रतियोगिताले राखेको थियो।
स्थापनाको दुई दशक पूरा गरेको अवसरमा बैंकले आफ्ना सेवाग्राही, सेयरधनी, नियामक निकाय, सञ्चार जगत्, कर्मचारी, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।