काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणाली (IMIS) लाई नवीनतम प्रविधिसहित स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ।
स्वास्थ्य बीमा बोर्डले आधुनिक प्रविधि र नयाँ आर्किटेक्चरमा आधारित अद्यावधिक बीमा व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ। यसले स्वास्थ्य बीमा कार्यक्रमको सेवा प्रवाहलाई थप प्रभावकारी, विश्वसनीय र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
अद्यावधिक प्रणालीले सेवा प्रदायकबाट प्राप्त स्वास्थ्य उपचारसम्बन्धी विवरणहरूको छिटो तथा प्रभावकारी रुजु र मूल्यांकन, राष्ट्रिय परिचयपत्र (NID) सँग अन्तरआबद्धता तथा तथ्यांकको वैधता र गुणस्तर अभिवृद्धिमा सहयोग पुर्याउने बोर्डले जनाएको छ।
त्यस्तै, प्रणालीमा भएका त्रुटि तथा असामान्य विवरण पहिचानका लागि नवीन प्रणालीगत एल्गोरिदम, बीमितको अभिलेखको खोजी तथा पहिचान र सेवा प्रदायकको अवस्थासम्बन्धी विवरण अनुमान गर्न सक्ने व्यवस्था गरिएको छ।
बोर्डका अनुसार नयाँ प्रणालीले सूचना सुरक्षा, प्रणालीको गति, कार्यसम्पादन र विश्वसनीयतामा अभिवृद्धि गर्नुका साथै आगामी दिनमा कृत्रिम बुद्धिमत्ता (AI) आधारित प्रविधिको प्रयोग तथा विकासका लागि समेत आधार तयार गर्नेछ।
स्वास्थ्य बीमा कार्यक्रमको डिजिटल रूपान्तरण, सेवा प्रवाहमा सुधार तथा नागरिकमैत्री स्वास्थ्य बीमा प्रणाली विकासमा यसले थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।