काठमाडौं । सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण क्षेत्रलाई पुनः चलायमान बनाउने, सुरक्षित र गुणस्तरीय आवास निर्माणलाई प्रोत्साहन गर्ने तथा स्वदेशमै लगानी र व्यावसायिक अवसर सिर्जना गर्ने उद्देश्यले बिल्ल नेपाल एक्स्पो-२०२६ को दोस्रो संस्करण आयोजना हुने भएको छ ।
नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी २०८३ मंसिर २५ देखि २७ गतेसम्म चितवनको भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा तीनदिने प्रदर्शनी सञ्चालन हुनेछ ।
पछिल्लो समय आर्थिक मन्दी, लगानीको अभाव, वैदेशिक रोजगारीतर्फ युवाको बढ्दो आकर्षण र अनुकूल व्यावसायिक वातावरणको कमीका कारण घरजग्गा तथा निर्माण क्षेत्रको कारोबार सुस्ताएको छ। यही अवस्थालाई ध्यानमा राख्दै यस क्षेत्रका सम्भावना उजागर गर्ने र स्वदेशी लगानीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
घर बनाउनेलाई लागत र सुरक्षाबारे परामर्श
एक्स्पोले आधुनिक घर निर्माण सामग्री तथा प्रविधिबारे उपभोक्तालाई जानकारी दिने, घरजग्गा व्यवसायलाई पुनः गतिशील बनाउने र निर्माण क्षेत्रमा संलग्न विभिन्न पक्षबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने अपेक्षा गरिएको छ ।
पछिल्ला वर्षमा बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्का घटनाले सुरक्षित आवास र व्यवस्थित बस्ती विकासको आवश्यकता थप स्पष्ट पारेका छन् । घर निर्माणलाई भौतिक संरचना निर्माणमा मात्र सीमित नराखी सुरक्षित जीवन, गुणस्तरीय बसोबास र दीर्घकालीन लगानीका रूपमा स्थापित गर्नु आवश्यक रहेको आयोजकको भनाइ छ ।
विदेशमा रहेका नेपालीले आधुनिक घरका डिजाइन, निर्माण सामग्री र प्रविधि देखेर त्यस्तै आवास निर्माण गर्ने चाहना राख्ने गरेका छन् । तर, अधिकांश व्यक्तिले जीवनमा एकपटक मात्रै घर बनाउने र प्राविधिक ज्ञान तथा अनुभव पर्याप्त नहुँदा निर्माण लागत बढ्ने, समय खेर जाने र गुणस्तरमा सम्झौता गर्नुपर्ने समस्या देखिएको छ । व्यस्तताका कारण निर्माण प्रक्रियामा प्रत्यक्ष समय दिन नसक्ने उपभोक्ताका लागि पनि यो चुनौती बनेको छ।
यस्ता समस्याको समाधान खोज्दै घर निर्माण गर्न चाहने उपभोक्ता, घरजग्गा व्यवसायी, निर्माण कम्पनी, इन्जिनियर, आर्किटेक्ट तथा निर्माण सामग्री उत्पादक र विक्रेतालाई एउटै प्लेटफर्ममा जोड्ने एक्स्पोको उद्देश्य छ ।
प्रदर्शनीमा आधुनिक घर तथा आवास निर्माण सामग्री, नयाँ प्रविधि, घरजग्गा तथा आवास परियोजना निर्माण सेवा र सम्बन्धित उत्पादन तथा सेवाहरू राखिनेछन् । साथै सरकारी मापदण्ड, भवन संहिता, निर्माणको गुणस्तर र सुरक्षासम्बन्धी जानकारी पनि उपलब्ध गराइनेछ ।
एक्स्पोका क्रममा सरकारी निकायका प्रतिनिधि निजी क्षेत्रका व्यवसायी, विषयविज्ञ इन्जिनियर र उपभोक्ताबीच परामर्श, अभिमुखीकरण, अन्तरक्रिया तथा छलफलका कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । घरजग्गा खरिदकर्ता र विक्रेताबीच प्रत्यक्ष भेटघाट तथा व्यावसायिक सम्पर्क स्थापित गर्ने अवसरसमेत उपलब्ध हुनेछ ।
राजधानी काठमाडौंपछिको महत्वपूर्ण आवास तथा निर्माण बजारका रूपमा विकास हुँदै गएको चितवनमा घरजग्गा र निर्माण क्षेत्रको सम्भावना ठूलो रहेको आयोजकको भनाइ छ। चितवनलगायत सम्भावनायुक्त तथा सुरक्षित जिल्लामा लगानी प्रवर्द्धन गरी आर्थिक गतिविधि बढाउन एक्स्पोले सहयोग पुयाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, विदेशमा सीप र अनुभव हासिल गरिरहेका नेपाली युवालाई स्वदेश फर्किएर उद्यम तथा व्यवसाय सञ्चालन गर्न प्रेरित गर्ने र देशभित्रै रोजगारी तथा लगानीका अवसर सिर्जना गर्ने लक्ष्य पनि एक्स्पोले राखेको छ । सामूहिक प्रयास, उद्यमशीलता र लगानीमार्फत स्वदेशमै समृद्धि सम्भव छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नु यसको अर्को उद्देश्य रहेको आयोजकले जनाएको छ ।
६० भन्दा बढी स्टल, प्रवेश निःशुल्क
तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा देशभरका घरजग्गा व्यवसायी, निर्माण कम्पनी तथा निर्माण सामग्री उत्पादक र विक्रेतासहित विभिन्न क्षेत्रका ६० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन्। आयोजकले करिब २५ हजार अवलोकनकर्ता सहभागी हुने अनुमान गरेको छ ।
इच्छुक प्रदर्शकका लागि स्टल बुकिङ खुला भइसकेको छ। निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेता, घरजग्गा व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, लगानीकर्ता, उपभोक्ता, विद्यार्थी तथा सर्वसाधारणले एक्स्पोबाट लाभ लिन सक्ने आयोजकको विश्वास छ । सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहनेछ ।
आयोजकका अनुसार बिल्ड नेपाल एक्स्पो २०२६ घरजग्गा तथा निर्माण सामग्रीको प्रदर्शनीमा मात्र सीमित नभई सुरक्षित आवास, आधुनिक निर्माण प्रविधि, स्वदेशी लगानी, उद्यमशीलता र आर्थिक समृद्धिको सम्भावनालाई एउटै स्थानमा जोड्ने साझा अभियान हो ।