एनपीएल : फाइनल पुग्न सुदूरपश्चिमलाई १३४ रनको लक्ष्य

0 Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमलाई जितका लागि १३४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन जोड्यो ।

पहिलो ओभरमा आक्रामक ब्याटिङ गर्दै ११ रन जोडेको चितवनले १.३ ओभरमा पहिलो विकेट गुमायो । यसअघि काठमान्डुविरुद्ध शतक बनाएका कामिल मिशारा ४ रनमै आउट हुन पुगे । उनलाई सुदूरपश्चिमका स्क्ट कुगलेइनले पभेलियन पठाए ।

चितवनले तेस्रो ओभरमा दुवै ओपनरलाई गुमायो । देव खनाल पनि सस्तैमा ९ बलमा ६ रनमा आउट भए । उनलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले आउट पारे ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका डेविड मलानले एक छेउबाट चितवनको इनिङ्स सम्हाले ।

चितवनले ५.४ ओभरमा तेस्रो विकेट गुमायो । कप्तान रवि बोपारा ८ बलमा १ रनमात्रै जोडेर आउट हुन पुगे । हेमन्त धामीले उनलाई आउट पारे ।

चितवनले पावरप्लेमा ३ विकेट गुमाएर ३२ रन बनायो ।

त्यसपछि ब्याटिङमा आएका विवेक यादवले ११ बलमा ३ रनमात्रै बनाए । छैटौं नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्लले ५ बलमा १ रनमात्रै बनाउँदै पभेलियन फर्किए । जारी सिजनमा खराब लयमा रहेका मल्लले आज पनि उही निरन्तरता दिए ।

चितवनलाई ११.३ ओभरमा छैटौं झट्का लाग्यो । उसामा मीर ५ बलमा २ रनमात्रै बनाएर आउट भए । त्यसपछि सलाहुद्दिन खान ब्याटिङमा आए । उनले १५ बलमा १८ रन जोडे ।

डेविड मलानले ३९ बलमा अर्धशतक बनाउँदै चितवनलाई अगाडि बढाए । उनले अन्तिमसम्म शानदार ब्याटिङ गर्दै नटआउट ७१ रनको योगदान दिए ।

कमल सिंह ऐरीले ७ बलमा १० रन बनाउँदै आउट भए ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेइनले तीन तथा थरिन्दु रत्नायकेले दुई विकेट लिए । दीपेन्द्र सिंह ऐरी, ईशान पाण्डे र हेमन्त धामीले एक-एक विकेट लिए ।

सम्बन्धित समाचार