नेपाली क्रिकेट टोलीको बेलायत भ्रमण तालिका सार्वजनिक, लर्ड्समा बंगलादेशसँग खेल्ने

0 Shares

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीको सन् २०२७ मा हुने बेलायत भ्रमणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार तालिका सार्वजनिक गर्दै भ्रमणबारे जानकारी दिएको हो ।

सार्वजनिक तालिका अनुसार नेपाली टोलीले जुन १ देखि जुन १२ सम्म बेलायतका विभिन्न मैदानमा स्कटल्याण्ड, बंगलादेश र आयरल्याण्डविरुद्ध कुल ६ वटा खेल खेल्नेछ ।

भ्रमणको मुख्य आकर्षणका रूपमा नेपालले ‘क्रिकेटको मक्का’ मानिने ऐतिहासिक लर्ड्स मैदानमा टेस्ट राष्ट्र बंगलादेशविरुद्ध टी–२० खेल खेल्ने तय भएको छ । लर्ड्समा हुने उक्त खेल जुन ३ तारिखका दिन ‘मेन्स भाइटालिटी ब्लास्ट’ सँगै डबल हेडरका रूपमा आयोजना हुनेछ ।

भ्रमणको सुरुवात नेपालले जुन १ तारिखमा वर्मस्ली मैदानमा स्कटल्याण्डविरुद्ध ५० ओभरको एकदिवसीय खेल खेलेर गर्नेछ । लर्ड्समा बंगलादेशसँगको ऐतिहासिक भेटपछि नेपाली टोलीले आयरल्याण्डविरुद्ध लगातार चार वटा खेल खेल्ने तालिका रहेको छ ।

नेपाल र आयरल्याण्डबीचको पहिलो खेल जुन ६ तारिखमा वर्मस्ली मैदानमा ५० ओभरको हुनेछ । त्यसपछि जुन ९ तारिखमा सोही मैदानमा यी दुई टोलीबीच पहिलो टी–२० खेल हुनेछ । भ्रमणको अन्तिम चरणमा नेपाल र आयरल्याण्डले बेकेनह्याम मैदानमा जुन ११ र १२ तारिखमा लगातार दुई वटा टी–२० खेल खेल्नेछन् ।

सम्बन्धित समाचार