जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट रुङ्न बसेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
स्थानीय करिब ६० वर्षीय रामजतन यादव (म्यानेजर) सोमबार बिहान ६ बजे पोखरीमा मृत अवस्थामा फेला परेका हुन् । उनी आइतबार पोखरीमा छठघाट बनाएर एक्लै रुङ्न बसेका थिए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् प्रवक्ता ओम प्रकाश खनालका अनुसार मृतकको दाहिने गालामा मुखदेखि कानको लोतीसम्म धारिलो हतियारले काटेको छ । घटनास्थल नजिकै पोखरीको पानीमा परालको कुटी काट्ने दाउसमेत फेला परेको छ ।
प्रहरीले घटनास्थल मुचुल्का सम्पन्न गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रारम्भिक अवस्था हेर्दा घटना शंकास्पद देखिएको छ । प्रहरीले हत्या भएको आशंकासहित घटनाको थप अनुसन्धान गरिरहेको छ ।