भ्रष्टाचार गर्ने तत्कालीन प्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा दायर

0 Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सङ्खुवासभाको शारदा माध्यमिक विद्यालय हुम्लिङ्गका तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गैरकानूनी लाभ तथा हानी पुर्‍याएर एवं सार्वजनिक सम्पत्ति नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापक भट्टराईसहित चार जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको जनाएको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सङ्खुवासभा धर्मदेवी नगरपालिका ४ मा रहेको शारदा माध्यमिक विद्यालयको खानेपानी आपूर्तिको लागि प्रदेश १ बाट निकासा भएको रकमबाट कुनै काम नगरी बिल भरपाइ मिलाइ अनियमितता गरेको पुष्टि हुन आएको जनाएका छन् ।

अख्यितारले प्रधानाध्यापक भट्टराई, शिक्षक लालबाबु मण्डल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारी र शाक्य अफसेट प्रेसका प्रोपाइटर केशव कुमार शाक्यविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले प्रधानाध्यापक भट्टराईलाई चार लाख ६० हजार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकरीलाई तीन लाख ४३ हजार, तत्कालीन शिक्षक मण्डललाई तीन लाख ३४ हजार र शाक्य अफसेट प्रेसका प्रोप्राइटर शाक्यलाई चार लाख १० हजार रुपैयाँ बिगो र सजाय माग गरेको छ ।

सम्बन्धित समाचार