एनपीएल प्लेअफ समीकरण पूरा: पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

0 Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणका सबै २८ खेल सकिएसँगै प्लेअफको समीकरण पूरा भएको छ ।

आइतबार भएको लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमान्डु गोर्खाजलाई ५५ रनले पराजित गरेपछि प्लेअफको खेल तालिका तय भएको हो । अब पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, एलिमिनेटरमा काठमान्डु गोर्खाजले चितवन राइनोजको सामना गर्नेछ ।

लिग चरणमा ११ अंक जोडेको लुम्बिनी पहिलो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको हो । १० अंकसहित सुदूरपश्चिम दोस्रो स्थानमा रह्यो । त्यस्तै, ८ अंक जोडेको काठमान्डु तेस्रो र चितवन चौथो स्थानमा रहे । काठमान्डुलाई शीर्ष दुईमा रहन अन्तिम खेल जित्नैपर्ने दबाब थियो । तर, यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको पोखरासँग पराजित भएपछि काठमान्डुले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको हो ।

पहिलो क्वालिफायर मंगलबार हुनेछ । उक्त खेलको विजेता सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

एलिमिनेटरमा पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।

सम्बन्धित समाचार