आज गाई तिहार : पूजामा श्रद्धा, संरक्षणमा किन बेवास्ता ?

0 Shares

डा. केदार कार्की – नेपाल कृषि प्रधान देश हो। यहाँ गाईलाई केवल एउटा घरपालुवा जनावरका रूपमा मात्र नभई आस्था, संस्कृति, सभ्यता र समृद्धिको प्रतीकका रूपमा सम्मान गरिन्छ। नेपालको राष्ट्रिय जनावर गाई हिन्दू धर्ममा ‘गौमाता’ तथा ‘लक्ष्मीमाता’ का रूपमा पूजनीय छिन्। त्यसैले गाईको सेवा र संरक्षण गर्नु धार्मिक आस्थासँगै राष्ट्रिय पहिचान र सामाजिक दायित्वसँग पनि जोडिएको विषय हो।

प्राचीन कालदेखि नै गाई मानव जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै आएको छ। वैदिक सभ्यतामा गाईलाई धन, समृद्धि र सामाजिक प्रतिष्ठाको प्रतीक मानिन्थ्यो। त्यसबेला मानिसको आर्थिक हैसियत र सम्पन्नता गाईवस्तुको सङ्ख्याबाट समेत मापन गरिन्थ्यो। संस्कृतमा धेरै गाई भएका धनी व्यक्तिलाई ‘गोपति’ भन्ने चलन थियो। राजाहरूले गाई, घोडा र हात्ती उपहार तथा दानका रूपमा दिने परम्परा पनि रहेको पाइन्छ। वेद तथा प्राचीन धार्मिक ग्रन्थहरूमा गाईको उल्लेखले तत्कालीन समाजमा यसको आर्थिक, सामाजिक र धार्मिक महत्त्व स्पष्ट पार्छ।

हिन्दू धर्ममा गाईलाई माता, लक्ष्मी र कामधेनुको प्रतीकका रूपमा लिइन्छ। गाईलाई करुणा, अहिंसा, त्याग र पालनपोषणको प्रतीक मानिन्छ। भगवान् श्रीकृष्णको गोपालक स्वरूपले पनि गाई र मानव सभ्यताबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई उजागर गर्छ। गाईको सेवा गर्नु पुण्य कर्म र यसलाई दुःख दिनु अनुचित कार्य मान्ने परम्परा नेपाली समाजमा गहिरोसँग स्थापित छ।

नेपाली संस्कृतिमा गाईको सम्बन्ध धार्मिक अनुष्ठानमा मात्र सीमित छैन। दूध, दही, घ्यू, महीजस्ता पदार्थ मानव पोषणका महत्त्वपूर्ण स्रोत हुन्। धार्मिक कर्मकाण्डमा पनि यी पदार्थको विशेष प्रयोग हुन्छ। गोबर परम्परागत रूपमा जैविक मलका रूपमा प्रयोग हुँदै आएको छ। यसले माटोको उर्वराशक्ति बढाउन र रासायनिक मलमाथिको निर्भरता घटाउन सहयोग पुर्‍याउँछ। त्यस्तै, गोबरबाट बायोग्यास उत्पादन गरी ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको स्रोतका रूपमा उपयोग गर्न सकिन्छ। यसरी गाईको योगदान धर्म, कृषि, पोषण र वातावरण संरक्षणसम्म फैलिएको छ।

नेपालको राष्ट्रिय जनावरका रूपमा गाईको विशेष संवैधानिक तथा सांस्कृतिक महत्त्व छ। नेपाली समाजमा गाईप्रतिको सम्मान धार्मिक आस्था र परम्परासँग जोडिएको छ। विशेषगरी गाई तिहारका दिन गाईको पूजा गरी माला, टीका र मिठा परिकार चढाउने परम्परा छ। यसले मानव र पशुबीचको आत्मीय सम्बन्ध तथा प्रकृतिप्रतिको कृतज्ञता अभिव्यक्त गर्छ।

विश्वका विभिन्न समाजमा गाईप्रतिको दृष्टिकोण भने फरक पाइन्छ। कतिपय पश्चिमी मुलुकमा गाईलाई मुख्यतः कृषि तथा व्यावसायिक पशुपालनको स्रोतका रूपमा हेरिन्छ भने केही देशमा गाईको मासु पनि सामान्य खाद्य पदार्थका रूपमा उपभोग गरिन्छ। यसको पछाडि धार्मिक विश्वास, ऐतिहासिक पृष्ठभूमि, सामाजिक संरचना र सांस्कृतिक अभ्यासको प्रभाव रहेको छ। त्यसैले फरक संस्कृतिका मान्यता बुझ्नु र एकअर्काको परम्पराप्रति सम्मान राख्नु आवश्यक छ। आफ्नो सांस्कृतिक पहिचान जोगाउँदै अरूको विश्वासप्रति सहिष्णु बन्नु आधुनिक समाजको महत्त्वपूर्ण विशेषता हो।

तर विडम्बना, गाईलाई माता र राष्ट्रिय जनावरका रूपमा सम्मान गर्ने हाम्रो समाजमा पछिल्ला वर्षहरूमा सडक, बजार तथा सार्वजनिक स्थानमा छाडा गाईहरू भौँतारिँदै हिँड्ने समस्या बढ्दै गएको छ। कतिपय गाईहरू सडक दुर्घटनामा पर्ने, भोकभोकै बस्नुपर्ने, बिरामी हुँदा उपचार नपाउने तथा विभिन्न किसिमका यातना सहन बाध्य हुने गरेका छन्। दूध दिन छाडेपछि वा उपयोगी नठानिएपछि गाईलाई सडकमा छाड्ने प्रवृत्तिले हाम्रो धार्मिक आस्था र व्यवहारबीचको विरोधाभास उजागर गरेको छ।

गाईको पूजा गर्ने तर तिनको उचित पालनपोषण र संरक्षणमा बेवास्ता गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। धार्मिक आस्था केवल पूजा र अनुष्ठानमा सीमित हुनु हुँदैन। त्यसको वास्तविक अर्थ पशुप्रति दया, माया, जिम्मेवारी र व्यवहारमा देखिनुपर्छ।

गाई संरक्षण सरकार वा कुनै एउटा संस्थाको मात्र जिम्मेवारी होइन। स्थानीय तह, पशुसेवा निकाय, धार्मिक संघसंस्था, गौशाला, सामाजिक अभियन्ता र आम नागरिक सबैको साझा दायित्व हो। स्थानीय सरकारले छाडा गाईको व्यवस्थापन, सुरक्षित आश्रयस्थल निर्माण, उपचार तथा आहारको व्यवस्था गर्न प्रभावकारी नीति र कार्यक्रम सञ्चालन गर्नुपर्छ। पशुपालकले पनि आफूले पालेका गाईको जीवनभर उचित हेरचाह गर्ने जिम्मेवारी लिनुपर्छ।

सडक तथा सार्वजनिक स्थानमा अलपत्र अवस्थामा रहेका गाई देखिएमा सम्बन्धित स्थानीय तह वा पशु संरक्षण संस्थालाई खबर गरी उद्धार तथा उपचारमा सहयोग गर्नुपर्छ। राष्ट्रिय गौरक्षा वाहिनी गौसेवा संरक्षण केन्द्र, नेपाललगायतका संरक्षण संस्थाले सञ्चालन गरेका अभियानमा पनि आवश्यक समन्वय र सहयोग गर्न सकिन्छ।

गाई संरक्षणलाई धार्मिक भावनासँग मात्र जोडेर हेर्नु पर्याप्त हुँदैन। यसलाई पशु कल्याण, कृषि विकास, जैविक खेती, वातावरण संरक्षण र ग्रामीण अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्छ। गाईको उचित व्यवस्थापन र संरक्षणबाट परम्परागत कृषि प्रणालीलाई बलियो बनाउनुका साथै स्थानीय स्तरमा रोजगारी र आयआर्जनका अवसरसमेत सिर्जना गर्न सकिन्छ।

आज विश्व तीव्र गतिमा आधुनिकता र प्रविधिको दिशामा अघि बढिरहेको छ। तर विकासको नाममा आफ्ना मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको सम्बन्ध बिर्सनु हुँदैन। आधुनिक सोच र वैज्ञानिक व्यवस्थापनसँगै सांस्कृतिक सम्पदाको संरक्षण गर्नु आजको आवश्यकता हो।

अन्ततः गाई हाम्रो राष्ट्रिय गौरव, धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीक हो। गौमाताको सेवा गर्नु भनेको केवल धार्मिक कर्म पूरा गर्नु होइन, पशुप्रतिको करुणा र मानवीय जिम्मेवारीलाई व्यवहारमा उतार्नु पनि हो। त्यसैले ‘गाई बचाऔँ, संस्कृति जोगाऔँ’ भन्ने भावनालाई नारामा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गरौँ। गाईमाथि हुने हिंसा, बेवास्ता र दुर्व्यवहार अन्त्य गर्दै यसको संरक्षणमा राज्य, समाज र नागरिक एकजुट हुन सके मात्र हाम्रो सांस्कृतिक पहिचान र मानवीय सभ्यताको वास्तविक सम्मान हुनेछ।

सम्बन्धित समाचार