काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसहित सबै कम्युनिष्ट घटकहरूलाई एकताको लागि आह्वान गरेका छन् ।
उमा भुजेल नेतृत्वको नेकपासँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै कम्युनिष्ट एकता आजको आवश्यकता बनिसकेको बताए । उनले एकताको फेरि एउटा नयाँ कडि जोड्ने उद्घोष आज भएको समेत बताए ।
उनले भने, ‘विगतमा थुप्रै साना ठूला कम्युनिष्ट घटकहरूलाई एकताबद्ध गर्ने पहल गरेका थियौँ, त्यसैको नयाँ कडिको रूपमा आज यो एकता घोषणा भइराखेको छ। यो अन्तिम होइन । हामीले अरू थुप्रैलाई पनि एकताबद्ध गर्न बाँकी छ ।’
एमालेसहित हिजो माओवादी र एमालेका विभिन्न धारामा रहेका सबै समूहहरूलाई पनि एकताबद्ध गर्ने जिम्मेवारी आफूहरूकै भएको प्रचण्डको भनाइ छ ।
उनले थपे, ‘माधवजीले केपी ओलीको नाम लिँदा अलिकति के हुने हो भन्नुभयो, मलाई चाहिँ त्यस्तो लागेको छैन । केपी ओली, मोहनविक्रमजी, मोहन वैद्य, नेत्रविक्रम चन्दलगायत सबै बाँकी कम्युनिष्ट समूहहरूले देशको वस्तुगत आवश्यकता हेरेर एकताबद्ध हुन जरुरी छ ।’
सबैले आफ्नो सोचाइ, बुझाइ र भावनालाई अझ फराकिलो बनाएर एकता गर्नुपर्ने भन्दै उनले विगतमा एमालेसँगको एकतालाई पनि स्मरण गरे ।