एनपीएल : कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य

0 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई जितका लागि १८१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको हो।

कर्णालीका ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। शाहब आलमको बलमा डेभिड वार्नरले उनको क्याच लिए। हुसैन तलातले ४० रनको योगदान दिए। उनले ३० बलमा १ चौका र २ छक्का प्रहार गरे।

पाँचौँ विकेटका लागि तलात र पवन सर्राफले ६५ रनको साझेदारी गरे। तलात हिट विकेट भए। गुल्सन झाले १२ बलमा २ छक्कासहित २० रन बनाए। मार्क वाटले १७ रन जोड्दा जिसन आलमले ७ र दीपक डुम्रेले ८ रन बनाए। पवन सर्राफ २४ र सोमपाल कामी १ रनमा अविजित रहे।

काठमाडौंका करण केसीले २ विकेट लिए। शाहब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान १ विकेट हात पारे।

१८१ रनको लक्ष्य पछ्याउन काठमाडौंले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।

सम्बन्धित समाचार