म्यादी प्रहरी पोसाक खरिद अध्ययन उपसमितिः मंसिर १ देखि बयान सुरु

0 Shares

काठमाडौं । निर्वाचन प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्न गठित उपसमितिले समयसीमासहित अध्ययनको कार्यसूचीलाई अन्तिम रुप दिएको छ । सिंहदरबारमा भएको उपसमितिको बैठकले कात्तिकसम्म विभिन्न दस्तावेजको अध्ययन गर्ने निर्णय गरेको हो ।

आगामी मंसिर १ देखि १५ गतेसम्म सम्बन्धित पक्षको बयान र अन्तर्वार्ता तथा विषयविज्ञसँग छलफल गर्ने तथा अन्तिम पाँच दिन प्रतिवेदन लेखनका लागि छुट्याउने बारेमा बैठकले सहमति जुटाएको उपसमितिका संयोजक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जानकारी दिए ।

उपसमितिले यसअघि अध्ययनको कार्यअवधि र कार्यविधि तोकिसकेको छ । उपसमितिलाई दुई महिनाको समयावधि दिइएको छ । आगामी मंसिर २० गतेसम्म उपसमितिले प्रतिवेदन बुझाइसक्नुपर्ने छ ।

उपसमितिमा सांसदहरु खगेन्द्र सुनार, गणेश धिमाल, योगेश गौचन थकाली, ऐन महर, रमेशकुमार मल्ल, महेन्द्रबहादुर शाही, आरेन राई र खुश्बु ओली सदस्य छन् ।

रास्वपा सांसद सुनारले गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका क्रममा निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमिता भएको भन्दै छानबिनको माग गर्दै आएका थिए ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको गत असोज १६ गतेको बैठकले प्रहरीको पोसाक खरिद सम्बन्धमा अध्ययन गर्न झाको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको हो ।

सम्बन्धित समाचार