काठमाडौं। ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ खुला राष्ट्रिय अभियानका संयोजक तथा विदेश मामिलाका विज्ञ सौरभ राज पन्तले भारतसँगको सम्बन्धलाई लिएर नेपालमा व्यापक राष्ट्रिय सहमति र साझा दृष्टिकोण आवश्यक रहेको बताएका छन्।
हालै नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटको एक प्यानलमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवाद र भारतविरोधी भावनासम्बन्धी विषयमा व्यक्त गरेको अभिव्यक्तिले नेपालमा यस विषयमा पुनः बहस सिर्जना गरेको पन्तको भनाइ छ।
पन्तका अनुसार, नेपालमा भारतसँगको सम्बन्धलाई हेर्ने दृष्टिकोण व्यक्तिको राजनीतिक पृष्ठभूमि र वैचारिक धारणाअनुसार फरक हुने गरेको छ। कम्युनिस्ट पृष्ठभूमिका कतिपय व्यक्तिले परम्परागत भारतविरोधी शैलीमा आफ्नो असहमति व्यक्त गर्ने गरेका छन् भने लोकतान्त्रिक पृष्ठभूमिका व्यक्तिले तुलनात्मक रूपमा नरम शैली अपनाउने गरेका छन्। त्यस्तै, सामाजिक सञ्जालमा सक्रिय जेनजी पुस्ताका कतिपय युवाले भारतसँग विकास साझेदारीलाई प्राथमिकता दिनुपर्ने र पुराना बहसमा अल्झिन नहुने धारणा राख्ने गरेका छन्।
“रमाइलो कुरा के छ भने, यस विषयमा सबैको आफ्नै बुझाइ छ। तर, फरक–फरक बुझाइ र राजनीतिक दृष्टिकोणका आधारमा अगाडि बढिरहँदा विश्वको तेस्रो ठूलो अर्थतन्त्र हुन लागेको भारतसँग प्रभावकारी ढंगले संवाद र सहकार्य गर्न सकिएला तरु” पन्तले प्रश्न गरे।
उनले भारतसँगको सम्बन्धलाई केवल भारतसमर्थन वा भारतविरोधको दृष्टिकोणबाट मात्र हेर्न नहुनेमा जोड दिँदै नेपालको राष्ट्रिय हित, आर्थिक विकास र बदलिँदो विश्व परिस्थितिलाई केन्द्रमा राखेर बहस गर्नुपर्ने बताए।
“भारतसँग प्रभावकारी रूपमा सम्बन्ध व्यवस्थापन गर्न व्यापक राष्ट्रिय सहमति आवश्यक छ। त्यसैले नेपालको परराष्ट्र नीति र आर्थिक एजेन्डामा साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्छ,” पन्तले भने।
पन्तले यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ खुला राष्ट्रिय अभियान अघि बढाइएको बताए। उनका अनुसार, भारतलगायत प्रमुख अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्बन्धलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकतासँग जोड्न तथा नेपालको आर्थिक विकासका लागि सहकार्यका सम्भावना पहिचान गर्न विभिन्न क्षेत्रका सरोकारवालाबीच संवाद आवश्यक छ।