चितवन राइनोजको विजयी सुरुवात, विराटनगरलाई ८ रनले हरायो

0 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । लिगको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो ।

जितका लागि चितवनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगर किंग्स १९ ओभर ३ बलमा १ सय ४९ रनमा समेटियो ।

विराटनगरका लागि ओपनर इमरान शेखले ३९ र आन्द्रे रसेलले ३३ रन बनाएपनि जित दिलाउन सकेनन् । विराटनगरका अर्का ओपनर लोकेश बमले २६ रन जोडे । विराटनगरका कप्तान सन्दीप लामिछाने, प्रतिश जिसी र रुपेश सिंह शून्यमा आउट भए ।

बलिङतर्फ चितवनका कमलसिंह ऐरी एक्लैले चार विकेट लिए । रिजन ढकालले दुई तथा रञ्जन कुमार, टन टेलर, डान मुस्ले र मौसम ढकालले समान एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १ सय ५७ रन जोडेको थियो ।

चितवनका लागि डाविड मलान एक्लैले ७० रन जोडे । ५० बलको सामना गरेका उनले ५ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, कप्तान रवि बोपाराले ३२ र डान मुस्लेले २९ रन बनाए । बलिङतर्फ एन्जेलो म्याथ्युज, चरिथ असलंका र आन्द्रे रसेलले समान एक विकेट लिए ।

सम्बन्धित समाचार