काठमाडौं । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघको निर्वाचन आगामी असार दोस्रो साताभित्र गर्न माग गरिएको छ । विभिन्न ६ संगठनले निर्वाचन तत्काल निर्वाचन गर्न माग गरेको हो ।
महासंघको २७ औँ महाधिवेशनले गत जेठ २६ गते मिति तय गरे पनि निर्वाचन हुन नसकी स्थगित भएको थियो । निर्वाचनको मिति तय नगरी फेरि अन्यौलता सिर्जना गरेको भन्दै संगठनले निर्वाचन गर्न माग राखेको हो ।
अन्तिम अवस्थासम्म पुग्दा पनि महासंघले सदस्यताको आधिकारिक तथ्यांक सार्वजनिक गर्न नसकेको भन्दै संगठनहरूले महासंघको नेतृत्वमाथि प्रश्न गरेको छ । ६ वटा संगठनले विभिन्न माग राख्दै निर्वाचन गर्न दबाब दिएको हो ।
यसका लागि प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, जनपत्रकार संगठन नेपाल, क्रान्तिकारी प्रेस संगठन र प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्षहरूले सामूहिक हस्ताक्षर गर्दै दबाब दिएका हुन् ।