दशैंमा खसीबोका र च्याङ्ग्राको मासु खाँदै हुनुहुन्छ ? यी सावधानी नअपनाए स्वास्थ्यमा गम्भीर असर, यस्तो छ पशुचिकित्सककाे सुझाव

0 Shares

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । दसैं-तिहार नेपालीहरुको सबैभन्दा ठुलो पर्व भएकाले रमाईलो गरि मनाउने गर्दछ । हुनेखानेले सक्दो खर्च गर्छन् भने नहुनेहरु पनि दसैं-तिहारका लागि ऋणै गरेर भए पनि पर्व मनाउँछन्। दसैंमा खानपान बढी हुने गर्छ। घर परिवारका सबै जम्मा हुने र रमाइलो गर्ने हुँदा खानपानलाई बढी महत्त्व दिइन्छ।

दशैं नजिकिँदै गर्दा सहरमा खसी–बोकाको बिक्री वितरण बढ्न थालेको छ । अन्य समयमा भन्दा दशैँमा धेरै मासु खाइन्छ । दशैंमा मासु उपभोग गरिने चौपायाको कारोबार धेरै हुने भए पनि कस्ता चौपायाका मासु उपभोगजन्य हुन्छन् भन्ने जानकारी अधिकांश उपभोक्तालाई रहेको पाइन्न । यसैले, यो बेलामा हामीले कस्तो मासु खाने भनेर थाहा पाउन जरुरी छ ।

दशैंको बेला नै अत्यधिक मात्रामा खसीबोका, भेडाच्याङ्ग्रा, राँगा लगायतका चौपायाहरु मासुका लागि बिक्री गर्ने गरिन्छ । दशैंमा तयारी मासुभन्दा सिंगो खसी नै ल्याएर हरेक घरमा छुट्टा छुट्टै काट्ने समेत गरिन्छ । यसरी ल्याइएका सबै चौपया स्वस्थ नहुन पनि सक्छन् ।

दशैंको समयमा ठूलो मात्रामा खसी आयात हुने, कतिपय अवस्थामा लुकाईछिपाई समेत भित्र्याइने, आयात भएका सबै चौपायाको पूर्ण परीक्षण नहुने र कतिपय चौपाया मर्ने, रोगी हुने लगायतका समस्या देखिन सक्छन् । रोगी चौपाया, गुणस्तरहिन मासुको उपभोगका कारण धेरै रोगहरू निम्तिन सक्छ । त्यसैले खसी किन्दा उपभोक्ता स्वयंले पनि ध्यान दिनु आवश्यक छ।

मासुको चाडको रुपमा समेत चिनिने दशैंमा मासुका लागि खरिद गरिने खसीबोका स्वस्थ भएन भने मासुका लागि गरिने खर्चभन्दा मासु खाने अस्वस्थ भई त्यो भन्दा धेरै खर्च गर्नुपर्न हुनसक्छ । यसका लागि मासु खरीद गर्दा स्वस्थ पशु खरिदमा ध्यान पुर्याउनुपर्ने हुन्छ ।

खुसी साट्ने नाममा अस्वस्थकर खानेकुराबाट भने बच्नुपर्छ। दसैंका बेला नाफा कमाउनेहरु कर्के नजर उपभोक्ता ठग्ने पनि हुन सक्छ। यसर्थ, स्वस्थ खानेकुरा किन्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। दसैंमा परिवार, छरछिमेक मिलेर सिंगै खसीबोका किन्ने प्रचलन पनि छ। खसीबोका नकिन्नेले भने बजारमा पाइने मासु खरिद गरी दसैं मनाउँछन्। बजारमा पाइने मासु किन्दा स्वस्थ भए/नभएको छुट्याउन विशेष होसियारी अपनाउनुपर्छ।

नेपालमा मनाइने चाडमध्ये बडादसैं ठूलो पर्व हो। आफूभन्दा ठूला मान्यजनको हातबाट रातो टीका र आशीर्वाद लिने र मिठाई खाने पर्वका रूपमा दसैंलाई चिनिन्छ।

यो पर्वमा ऋण लिएर नै भएपनि नयाँ लुगा लगाउने र मासु काट्ने प्रतिस्पर्धा हुने गर्छ। यही कारणले उखानै छ–दसैं आउँछ, गरिब निमुखालाई ऋण बोकाएर जान्छ।

मासु पौस्टिक खाना हो, जसमा १० देखि २५ प्रतिशत प्रोटिन हुन्छ। यसमा जिंक, भिटामिन बी र पोटासियम पाइन्छ। यिनलाई मानिसको शरीरका लागि आवश्यक पोषक तत्त्व मानिन्छ। सन्तुलित आहारमा मासुको प्रयोग अत्यावश्यक मानिन्छ।

दसैंमा अधिक मासु सेवनको असरले विभिन्न रूपका दीर्घकालीन रोग निम्त्याउने अमेरिका र युरोपका विभिन्न विश्वविद्यालय अन्वेषक र मासु विज्ञहरू बताउँछन्। दैनिक रूपमा धेरै रातो मासु खाँदा मानिसको मुटुमा असर पर्ने र उच्च रक्तचाप र क्यान्सर हुने गरेको विभिन्न अध्ययनले देखाएको छ।

दसैंमा अस्वस्थ मासु खाँदा ब्याक्टेरियाको संक्रमण हुने, कीराको लार्भा शरीरमा प्रवेश गर्ने र मासुबाट विभिन्न रोग सर्ने गरेको पाइन्छ। यी कारणले विभिन्न चाडपर्व मनाएर अस्पताल भर्ना हुनेको संख्या पनि बढ्ने गर्छ।

दसैंमा खसी–बोका किन्दा केही आधारभूत कुरामा ध्यान दियौं भने मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ। जस्तैः धेरै पातलो, आवश्यकताभन्दा बढी रसिला आँखा भएको किन्नु हुँदैन। यस्ता लक्षण सामान्यतया बिरामी हुँदा देखा पर्छन्।

सरकारले हाल खसी–बोकालाई रातो र हरियो रङ दिएर परीक्षण गर्ने गरेको छ। हरियो सिङ भएका खसी–बोका स्वस्थ हुन्छन् भने रातो अस्वस्थ हुन्छन्। खसी–बोका काट्नेदेखि लिएर मासु पकाएर खाने र भण्डारण गर्ने प्रक्रियामा ध्यान दिन सकिए मासुजन्य रोगबाट बच्न सकिन्छ ।

दशैंको समयमा खसी, बोका, च्यांग्रा, भेडा र राँगाको मासुको अत्यधिक उपभोग हुने हुनाले जनस्वास्थ्यको दृष्टिकोणबाट विशेष सावधानी अपनाउनु अति आवश्यक छ। अस्वस्थकर मासुको सेवन र खानपानमा हुने लापरबाहीले विभिन्न सरुवा रोग, फूड पोइजनिङ, तथा दीर्घकालीन स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।

यसबाट बच्नका लागि पशु छनोटदेखि भान्सासम्म अपनाउनुपर्ने मुख्य रोकथामका उपाय तथा विचारहरू: 

पशु खरिद गर्दा अपनाउने सावधानी (पशु स्वास्थ्य)

स्वास्थ्य परीक्षण चिन्ह: बजारमा खरिद गर्दा सरकारी स्वास्थ्य परीक्षण टोलीले स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थ वा रोगी पशुको सिङमा रातो रङ लगाएको हुन्छ। हरियो रङ भएका स्वस्थ पशु मात्र छान्नुहोस्।

शारीरिक लक्षण : खरिद गर्न लागेको पशु सुस्त नभई सक्रिय, आँखा चम्किलो भएको, र्‍याल वा सिंगान नबगाएको तथा दिशा पातलो नभएको हुनुपर्छ।

अस्वस्थ पशुबाट टाढै रहने : काँप्ने, झोक्राउने, लखेट्दा हिँड्न नसक्ने वा अन्य असामान्य लक्षण देखिएका पशुहरू कुनै पनि हालतमा खरिद गर्नु हुँदैन।

बध गर्दा र मासु काट्दा अपनाउने सरसफाइ

सफा ठाउँ : पशु बध गर्ने र मासु काट्ने स्थान सफा, खुला र झिंगा वा किरा नभएको हुनुपर्छ।

औजारहरूको सरसफाइ :  प्रयोग गरिने खुकुरी, चक्कु, र अचानो राम्रोसँग पखालेर मात्र प्रयोग गर्नुपर्छ। मासु काट्ने व्यक्तिको हातसमेत साबुनपानीले राम्रोसँग धोएको हुनुपर्छ।

आन्द्राभुँडीको व्यवस्थापन : पशुपन्छीको आन्द्राभुँडी निकाल्दा विशेष सावधानी अपनाउनु पर्छ ताकि दिसा-मलमूत्रको अंश मासुमा नपरोस्। कलेजो, भुँडी र सामान्य मासुलाई एउटै भाँडोमा मिसाएर राख्नु हुँदैन।

कसरी छान्ने स्वस्थकर मासु ?

मासु हल्का गुलाबी रङको हुनु हुँदैन। यदि मासु हरियो र प्याज रङको छ भने यो मानव उपभोगका लागि हानिकारक हुन सक्छ। मासुमा कुनै अमिलो, बिग्रिएको, अप्रिय गन्ध हुनु हुँदैन। मासुलाई फ्रिजमा छुट्टै छोपेर सफा र चलिरहेको फ्रिजमा राख्नुपर्छ।मासु काट्दा र समात्दा विशेष ध्यान दिनुपर्छ।बासी र खुला मासु खानुहुँदैन। कुनै पनि हालतमा काँचो मासु खानुहुँदैन। सेकुवा, ह्याकुला छोइला आदि भुटेको मासु सकेसम्म नखानु जाती हुन्छ। राम्ररी धोएर र राम्ररी पकाएको मासु मात्र खाने।विभिन्न प्रकारका मसला र तेलको प्रयोग कम गर्नुपर्छ।सकेसम्म फ्याट कम भएको मासुको प्रयोगमा जोड दिनुपर्छ। मासुलाई अन्य पकाएको परिकारसँगै फ्रिजमा राख्नु हुँदैन।

ताजा मासुलाई २ देखि ४ डिग्री सेल्सियसमा ४८ घन्टासम्म फ्रिजमा भण्डारण गर्न सकिन्छ। फ्रिजमा राख्दा सधैं मासु छोप्नुपर्छ र यसलाई माथि कहिल्यै राख्नुहुँदैन। माथिल्लो भागमा राख्दा मासुमा भएका किटाणु तरल पदार्थ, हावाको माध्यमबाट तल्लो सतहमा पर्न सक्छन्। खानेकुरा पकाएको भाँडा, तरकारी, शाकाहारीका लागि तयार/छुट्टाइएका परिकारहरू, फलफूल र तरकारीको जोखिम हुन्छ। काँचो मासु र पकाएको मासु एकै ठाउँमा राख्नु हुँदैन।

मासुको भण्डारण 

सही तापमान : मासु धेरै दिनसम्म सुरक्षित राख्नका लागि डिप फ्रीजर (माइनस १८ डिग्री सेल्सियस वा कम) मा राख्नुपर्छ।

साना पोका बनाउने : एकैपटक ठूलो थुप्रो बनाएर फ्रिजमा राख्नुभन्दा एक पटकमा पकाउन पुग्ने गरी साना-साना पोका बनाएर राख्नु राम्रो हुन्छ। यसले पटक-पटक पग्लने र जम्ने क्रम रोगी मासुलाई बिग्रनबाट बचाउँछ।

काँचो र पाकेको छुट्याउने : फ्रिजमा काँचो मासुलाई सधैं तल्लो तलामा र पाकेको वा तयार खानेकुरालाई माथिल्लो तलामा राख्नुपर्छ।

पकाउँदा र उपभोग गर्दा अपनाउने सचेतता

राम्रोसँग पकाउने : मासुलाई राम्रोसँग भित्रैसम्म पाक्ने गरी उमालेर वा पकाएर मात्र खानुपर्छ। काँचो वा अर्धपाकेको मासु (जस्तै: कचािला वा राम्रोसँग नपाकेको छोइला)ले पेटको गम्भीर संक्रमण गराउन सक्छ।

मसला र चिल्लोको नियन्त्रण: दशैंमा धेरै तेल, घिउ र गरम मसला प्रयोग गरिएका परिकारहरूले ग्यास्ट्रिक, एसिडिटी र अपचको समस्या निम्त्याउन सक्छन्।

फाइबर र पानीको मात्रा: मासु मात्र सेवन गर्नुको सट्टा सँगै पर्याप्त मात्रामा हरियो सागसब्जी, सलाद र ताजा फलफूल समावेश गर्नुहोस्। यसले पाचन प्रणालीलाई सन्तुलनमा राख्छ। साथै, युरिक एसिडको जोखिम कम गर्न प्रशस्त पानी पिउनुहोस्।

पुराना तथा दीर्घरोगीहरूका लागि विशेष सावधानी

मुटु र उच्च रक्तचापका बिरामीस् रातो मासुमा ‘स्याचुरेटेड फ्याट’ र कोलेस्ट्रोल बढी हुने भएकाले मुटु तथा रक्तचापका बिरामीले बोसो निकालिएको मासु सीमित मात्रामा मात्र खानुपर्छ।

मधुमेह र युरिक एसिडका बिरामीस् युरिक एसिडको समस्या भएकाहरूले रातो मासु, विशेषगरी भित्री अंगहरू (कलेजो, मिर्गौला, गिदी आदि) र गेडागुडीको सेवनबाट टाढै बस्नुपर्छ।

दशैंको रमाइलोमा खानपानको सन्तुलन र सरसफाइमा उचित ध्यान दिन सकेमा विभिन्न स्वास्थ्य समस्याहरूबाट सहजै बच्न सकिन्छ। डा. केदार कार्की (वरिष्ठ पशुचिकित्सक) डिवाइन पशु चिकित्सा अस्पताल।

सम्बन्धित समाचार