काठमाडौं । सन् २०२६ मा स्थापित ताजा इनिसिएटिभ नेपाल, काठमाडौं उपत्यकामा वायु प्रदूषण कम गर्न अनुसन्धान, वायु गुणस्तर निगरानी र प्रमाणमा आधारित समाधानहरूको प्रवद्र्धनमा संलग्न एक गैर–नाफामूलक संस्था हो। अनुसन्धान, डेटा, निगरानी र जनचेतना पहलहरू मार्फत, ताजा इनिसिएटिभ नेपालले भरपर्दो वातावरणीय जानकारीमा पहुँच सुदृढ गर्न र स्वस्थ सहरी वातावरणतर्फ प्रमाणमा आधारित कार्यहरूलाई समर्थन गर्न काम गर्दछ। संस्थाको शुभारम्भसँगै काठमाडौं उपत्यकाका १,२०० बासिन्दाहरूको नयाँ सर्वेक्षणका निष्कर्षहरू पनि सार्वजनिक गरिएको छ, जसले वायु प्रदूषणप्रतिको जनचासो र भरपर्दो वायु गुणस्तर जानकारीमा पहुँचबीचको ठूलो खाडललाई उजागर गरेको छ।
ताजा इनिसिएटिभ नेपालद्वारा काठमाडौं उपत्यकाका १,२०० बासिन्दाहरूमा माझ गरिएको सर्वेक्षणले एक विरोधाभास देखाएको छ– जहाँ ८१.२% ले उपत्यकाको वायु प्रदूषणलाई स्वास्थ्यका लागि हानिकारकदेखि अत्यन्त हानिकारक रूपमा मूल्याङ्कन गरेका छन्, वायु गुणस्तर जाँच्नेहरूमध्ये ९४.१% ले आधिकारिक डेटाको सट्टा आफ्नै इन्द्रियहरू (गन्ध, दृश्यता, र आँखामा हुने जलन) मा मात्र भर पर्छन्।
प्रमुख सर्वेक्षण निष्कर्षहरू
समग्रमा, ५२.३% बासिन्दाहरूले आफ्नो स्थानीय वायुको गुणस्तरलाई खराब देखि अति खराबको रूपमा मूल्याङ्कन गरेका छन्।
उपत्यकाका प्रमुख सहरी केन्द्रहरूमा नकारात्मक धारणा विशेष रूपमा उच्च छ, ललितपुरमा ६०.९%, काठमाडौंमा ५९.२%, र भक्तपुरमा ५६.०% उत्तरदाताहरूले स्थानीय वायुको गुणस्तरलाई नकारात्मक रूपमा मूल्याङ्कन गरेका छन्।
यसको तुलनामा, उत्तर काठमाडौंमा यो दर ३५.९% रहेको छ।
वायु गुणस्तर कसरी जाँच्ने भन्ने ज्ञान शैक्षिक स्तर अनुसार उल्लेखनीय रूपमा भिन्न हुन्छ। प्राथमिक शिक्षा वा सोभन्दा मुनिका उत्तरदाताहरूमध्ये १०.८% ले मात्र वायु गुणस्तर जाँच्न जानेको बताएका छन्, जुन स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता भएकाहरूमा ६३.०% रहेको छ।
डिजिटल निगरानी पनि युवा बासिन्दाहरूमा बढी केन्द्रित छ। वायु गुणस्तर सक्रिय रूपमा ट्र्याक गर्ने १८–२४ वर्ष उमेर समूहका उत्तरदाताहरूमध्ये ६०.३% ले वेबसाइटहरू प्रयोग गर्छन् र ४२.५% ले मोबाइल अनुप्रयोगहरू प्रयोग गर्छन्।
यद्यपि, यी तथ्यांकहरूले सम्पूर्ण १८–२४ उमेर समूहको क्रमशः १४.१% र १०.०% लाई मात्र प्रतिनिधित्व गर्छन्, जसले अनुसन्धान वा निगरानी नगरिने व्यवहारको व्यापकता झल्काउँछ।
मोटर सवारी साधन र यातायातका धूवाँलाई ९८.६% उत्तरदाताहरूले वायु प्रदूषणको प्रमुख स्रोतको रूपमा पहिचान गरेका छन्, जबकि ९४.८% ले सडक निर्माणको धूलोलाई एक महत्त्वपूर्ण योगदानकर्ताको रूपमा औल्याएका छन्।
वायु प्रदूषणलाई सम्बोधन गर्न संस्थागत उपायहरूप्रति पनि जनसमर्थन बलियो छ। ७९.९% उत्तरदाताहरूले विस्तारित सार्वजनिक यातायात र विद्युतीय गतिशीलता (इलेक्ट्रिक मोबिलिटी) लाई समर्थन गर्छन्, जबकि ७१.५% ले कडा धूलो नियन्त्रण उपायहरू र सहरी हरियालीको पक्षमा समर्थन जनाएका छन्।
साथै, ७०.४% ले वायु प्रदूषण न्यूनीकरण गर्ने सरकारी प्रयासहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
वायु प्रदूषणबाट आफ्नो बचाउ गर्ने सन्दर्भमा, ८२.०% उत्तरदाताहरूले सर्जिकल मास्क वा स्कार्फमा भर पर्ने बताएका छन्। यद्यपि, ४३.४% ले वायु प्रदूषणबाट आफूलाई बचाउन कुनै पनि व्यक्तिगत कदम नचालेको बताएका छन्।
वायु प्रदूषणले उपत्यका छाड्ने दबाबमा पनि योगदान पुरÞ्याइरहेको हुन सक्छ। काठमाडौं उपत्यका छाड्ने विचार गरिरहेका ७.२% उत्तरदाताहरूमध्ये ३९.१% ले खराब वायु गुणस्तरलाई यसको एक कारकको रूपमा औल्याएका छन्, जुन आर्थिक दबाब र महँगी (४७.८% ले अष्त गरेको) पछि दोस्रो स्थानमा छ।
सूचनाको खाडललाई मेटाउने आह्वान
“सर्वेक्षणको तथ्यांकले एक गम्भीर विच्छेद (डिसकनेक्ट) देखाएको छ। पाँचमध्ये चार बासिन्दाहरू हावा उनीहरूको स्वास्थ्यका लागि हानिकारक छ भन्छन्, तथापि अधिकांश मानिसहरू आफूले श्वास फेर्ने हावा बुझ्न विज्ञानभन्दा आफ्नै इन्द्रियहरूमा भर पर्न बाध्य छन्। दशमध्ये छ जनालाई प्रदूषणको स्तर कसरी जाँच्ने भन्ने थाहा छैन।” – रोशनी गिरी, कार्यकारी निर्देशक – ताजा इनिसिएटिभ नेपाल
गिरीले थपिन् कि ताजा इनिसिएटिभ नेपाल काठमाडौं उपत्यकाका बासिन्दाहरूका लागि वायु गुणस्तरको तथ्यांकलाई थप पहुँचयोग्य, बुझ्न सकिने र कार्ययोग्य बनाएर यो सूचनाको खाडललाई मेटाउन प्रतिबद्ध छ। निष्कर्षहरूमा आधारित रहेर, ताजा इनिसिएटिभ नेपालको आगामी चरणले उपत्यकाभरि विस्तारित वायु गुणस्तर अनुसन्धान, पहुँचयोग्य डेटा प्लेटफर्महरू, र बलियो वायु गुणस्तर साक्षरता कार्यक्रमहरू मार्फत चासोलाई ज्ञान र कार्यमा रूपान्तरण गर्नमा ध्यान केन्द्रित गर्नेछ।
यस संस्थाको लक्ष्य बासिन्दाहरूलाई भरपर्दो र बुझ्न सकिने जानकारी प्रदान गर्नु हो जसले उनीहरूलाई प्रदूषणको स्तर राम्ररी बुझ्न, सचेत निर्णयहरू गर्न र वायु गुणस्तर सुधार गर्ने प्रयासहरूमा थप अर्थपूर्ण रूपमा संलग्न हुन मद्दत गर्न सक्छ।