उपचारका लागि आएकी महिलाको संवेदनशील अंग छोएको आरोपमा थापा पोलिक्लिनिकका सञ्चालक पक्राउ

0 Shares

नेपालगन्ज । बाँकेको कोहलपुरमा उपचारका लागि पोलिक्लिनिक पुगेकी एक महिलाको संवेदनशील अंग छोएको आरोपमा पोलिक्लिनिक सञ्चालक पक्राउ परेका छन् । पीडित महिलाले प्रहरीमा करणीसम्बन्धी कसुरमा जाहेरी दिएपछि पोलिक्लिनिक सञ्चालक ६३ वर्षीय गणेशबहादुर थापालाई पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका-११ रेडक्रस रोडस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि पुगेकी महिलाको गोप्य अंग छोएको तथा चलाएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको थियो ।

प्रहरीका अनुसार कोहलपुर नगरपालिका-११ बस्ने थापाले उपचार गर्न आवश्यक इजाजत प्राप्त गरेका थिएनन् । उनले सिएमए प्रमाणपत्र मात्र प्राप्त गरेको र नेपाल मेडिकल काउन्सिलको नैतिकता र व्यावसायिक आचरण संहिता, २०१७ मा भएको व्यवस्थाविपरीत उपचारसम्बन्धी कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थापालाई बाँके जिल्ला अदालतबाट करणीसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन् ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ परेका थापामाथि लागेको आरोप अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित समाचार