शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुपअन्तर्गतको स्याकम्यानसँगको सहकार्यमा नेपालमा दुई नयाँ विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन सार्वजनिक गरेको छ। कम्पनीले स्याकम्यान एक्स५०००ई ६×४ इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान एक्स५०००ई ६×४ इलेक्ट्रिक टिपर नेपाली बजारमा सार्वजनिक गरेको हो।
यी दुई विद्युतीय सवारीसाधनको आगमनसँगै स्याकम्यानले नेपालको तीव्र रूपमा विस्तार हुँदै गएको विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधनको बजारमा औपचारिक प्रवेश गरेको छ। जगदम्बा मोटर्सले पनि आफ्नो व्यावसायिक सवारीसाधनको पोर्टफोलियोलाई विद्युतीय हेभी–ड्युटी सेग्मेन्टमा विस्तार गरेको जनाएको छ।
व्यावसायिक क्षेत्रका फरक–फरक आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको स्याकम्यान एक्स५०००ई इलेक्ट्रिक प्राइम मुभर भारी सामान ढुवानी तथा लामो दूरीको यातायातका लागि लक्षित गरिएको छ। त्यस्तै, एक्स५०००ई इलेक्ट्रिक टिपर निर्माण, खानी तथा अन्य चुनौतीपूर्ण अफ–रोड सञ्चालनका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ।
दुवै मोडलमा विद्युतीय पावरट्रेन तथा ६×४ ड्राइभट्रेन प्रविधि प्रयोग गरिएको छ। साथै, फास्ट चार्जिङ, रिजेनेरेटिभ ब्रेकिङ र इन्टेलिजेन्ट ब्याट्री व्यवस्थापन प्रणालीजस्ता प्रविधि पनि उपलब्ध छन्। यी प्रविधिले हेभी–ड्युटी व्यावसायिक सञ्चालनका क्रममा ऊर्जा उपयोगलाई प्रभावकारी बनाउन तथा सवारीसाधनको सञ्चालनलाई थप सहज र भरपर्दो बनाउन सहयोग गर्ने कम्पनीको दाबी छ।
विद्युतीय प्रविधिमा आधारित यी सवारीसाधनलाई नेपालको यातायात, निर्माण, खानी तथा औद्योगिक क्षेत्रका आवश्यकतालाई ध्यानमा राखेर बजारमा ल्याइएको जगदम्बा मोटर्सले जनाएको छ। विशेषगरी भारी सामान ढुवानी तथा निर्माण क्षेत्रमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग बढाउने उद्देश्यले नयाँ मोडल प्रस्तुत गरिएको कम्पनीको भनाइ छ।
शंकर ग्रुपकी निर्देशक दीपा अग्रवालले स्याकम्यानसँगको साझेदारीले नेपालमा अत्याधुनिक विद्युतीय मोबिलिटी समाधान ल्याउने कम्पनीको प्रतिबद्धता प्रतिबिम्बित गर्ने बताइन।
उनले भनिन, “स्याकम्यानसँगको हाम्रो साझेदारीले नेपालमा अत्याधुनिक विद्युतीय मोबिलिटी समाधानहरू ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ। आगामी दिनमा यस सहकार्यलाई थप विस्तार गर्दै व्यावसायिक यातायात क्षेत्रमा थप अवसरहरू सिर्जना गर्न हामी तत्पर छौँ।”
सान्क्सी अटोमोबाइल होल्डिङ ग्रुपका दक्षिण एसिया महाप्रबन्धक स्यान्डर्स लीले नेपाल विद्युतीय हेभी–ड्युटी सवारीसाधनका लागि सम्भावनायुक्त बजार रहेको बताए। शंकर ग्रुप र जगदम्बा मोटर्ससँग साझेदारी गर्न पाउँदा खुसी व्यक्त गर्दै उनले नेपाली बजारमा प्रविधिमा आधारित र भरपर्दो हेभी–ड्युटी समाधान उपलब्ध गराउने लक्ष्य रहेको बताए।
उनले भने, “नेपाल विद्युतीय हेभी–ड्युटी सवारीसाधनका लागि सम्भावनायुक्त बजार हो। शंकर ग्रुप र जगदम्बा मोटर्ससँग साझेदारी गर्न पाउँदा हामी खुसी छौँ। यस सहकार्यमार्फत नेपाली बजारमा भरपर्दो र प्रविधिमा आधारित हेभी–ड्युटी समाधानहरू ल्याउने हाम्रो लक्ष्य छ।”
स्याकम्यान एक्स५०००ई का दुवै मोडलमा विद्युतीय पावरट्रेनसँगै चालकको आराम तथा सञ्चालन प्रभावकारितालाई ध्यानमा राखेर विभिन्न सुविधा समावेश गरिएको छ। सवारीसाधनमा एयर–सस्पेन्डेड सिट, मल्टिफङ्सन स्टेयरिङ, एयर कन्डिसनिङ र ठूलो इन्स्ट्रुमेन्ट डिस्प्लेलगायतका सुविधा उपलब्ध छन्।
हेभी–ड्युटी व्यावसायिक सञ्चालनका लागि आवश्यक सुरक्षा तथा नियन्त्रण प्रणालीलाई पनि सवारीसाधनमा प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। यसले लामो समयसम्म व्यावसायिक प्रयोजनमा सवारी सञ्चालन गर्ने चालकका लागि सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले स्याकम्यान एक्स५०००ई आफ्नो व्यावसायिक सवारीसाधन पोर्टफोलियोमा महत्वपूर्ण थप भएको बबताए। नेपालको यातायात, निर्माण तथा औद्योगिक क्षेत्रका बदलिँदा आवश्यकतालाई सम्बोधन गर्ने विद्युतीय हेभी–ड्युटी समाधान उपलब्ध गराउन पाउँदा खुसी लागेको उनले बताए।
उनले भने,, “स्याकम्यान एक्स५०००ई हाम्रो व्यावसायिक सवारीसाधन पोर्टफोलियोमा महत्वपूर्ण थप हो। नेपालको यातायात, निर्माण तथा औद्योगिक क्षेत्रका बदलिँदा आवश्यकताहरूलाई सम्बोधन गर्ने विद्युतीय हेभी–ड्युटी समाधान उपलब्ध गराउन पाउँदा हामी खुसी छौँ।”
कम्पनीका अनुसार स्याकम्यान एक्स५०००ई ६×४ इलेक्ट्रिक प्राइम मुभरको मूल्य २ करोड ५ लाख रुपैयाँ तोकिएको छ। त्यस्तै, स्याकम्यान एक्स५०००ई ६×४ इलेक्ट्रिक टिपरको मूल्य २ करोड ३५ लाख रुपैयाँ निर्धारण गरिएको छ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग निजी तथा यात्रुवाहक क्षेत्रमा विस्तार भइरहेका बेला हेभी–ड्युटी व्यावसायिक सवारीसाधनमा समेत विद्युतीय प्रविधिको प्रवेश बढ्दै गएको छ। यही क्रममा जगदम्बा मोटर्सले स्याकम्यानका नयाँ विद्युतीय मोडल सार्वजनिक गरेको हो।
नयाँ मोडलको प्रवेशसँगै नेपालमा भारी सामान ढुवानी, निर्माण, खानी तथा औद्योगिक प्रयोजनमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार हुने अपेक्षा गरिएको छ। जगदम्बा मोटर्सले आगामी दिनमा व्यावसायिक क्षेत्रका लागि विद्युतीय मोबिलिटी समाधानलाई थप विस्तार गर्ने जनाएको छ।