काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ९२ लाख ४१ हजार ४२६ थान साधारण शेयर (आईपीओ) निष्काशन गर्न ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले प्रतिशेयर एक सय रुपैयाँको दरले कूल ९२ करोड ४१ लाख ४२ हजार ६०० रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने भएको हो । क्यापिटल र मुनलाइट हाइड्रोपावर कम्पनी कम्पनीबीच शेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
काठमाडौंमा आयोजित एक समारोहबीच ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र मुनलाइट हाइड्रोपावरका तर्फबाट कम्पनीका संचालक समितिका अध्यक्ष कल्याण विक्रम न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको ज्योति क्यापिटलले नेपाल धितोपत्र वोर्डबाट मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति तथा शेयर रजिष्ट्रारको सेवा प्रदान गरिरहेको छ ।