एमाले वरिष्ठ नेतामा मनोनीत भएपछि विद्या भण्डारी- राजनीतिमा पुनः सक्रिय हुन पाउँदा खुसी लागेको छ

0 Shares

काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताएकी छन्।

मंगलबार रूपन्देहीको बुटवलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले उद्योगी व्यवसायीहरूसँग सरसल्लाह गरी यस क्षेत्रमा रहेका समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिइन्।

नेता भण्डारीले लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सडक पूर्वाधार निर्माण हुनु महत्त्वपूर्ण उपलब्धि भएको पनि बताइन्। उनले आफूले पहिलो पटक पार्टी उपाध्यक्षको जिम्मेवारी समेत लुम्बिनीमै पाएको स्मरण गर्दै फेरि वरिष्ठ नेताको रुपमा समेत यही क्षेत्रबाट सक्रिय हुन पाउँदा खुशी लागेको बताइन्।

भण्डारीले एमालेले आफूलाई वरिष्ठ नेतामा मनोनयन गरेकोमा खुशी व्यक्त गर्दै औपचारिक रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रक्रिया भने टुङ्गो लाग्न बाँकी रहेको बताइन्।

उनले भनिन्, ‘मलाई पहिलो पटक पार्टी उपाध्यक्षको जिम्मेवारी यही अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट प्रदान गरिएको थियो। र सोही समयमा हामीले यो ठाउँलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, खेलमैदान लगायतका पूर्वाधार बनाउनुपर्छ भन्ने कुरा भएको थियो। र त्यो सबै आज पूरा भएको छ। हामी सबैको लागि खुशीको कुरा हो। आज यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बन्यो, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको छ, राम्रो बाटो पनि बनेको छ।’

उनले थपिन्, ‘अब उद्योग व्यवसायलाई कसरी अगाडि बढाउने? उद्योग व्यवसायमा लागेका मित्रहरूसँग सरसल्लाह गरे औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै हामी अगाडि लाग्नुपर्ने छ। विश्वमा यसै प्रसिद्ध रहेको लुम्बिनी यी सबै संरचना बनेपछि झनै प्रसिद्ध भएको छ।’

उनले आफूलाई वरिष्ठ नेता भन्न नचाहेको तर सबै जनाले भनेको बताइन्।

हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनित गरेको थियो। वरिष्ठ नेता मनोनित भएपछि उनको यो उपत्यका बाहिरको पहिलो भ्रमण हो।

सम्बन्धित समाचार