काठमाडौं । फुटबल मैदानमा खेलाडीको लामो कपालकै कारण दुई खेलाडीले रातो कार्ड पाएका छन्।
कन्काकाफ नेसन्स लिगअन्तर्गत एंगुइला र एन्टिगुवा एन्ड बारबुडाबीचको खेलमा एंगुइलाका मिडफिल्डर एडन स्किपियो ६९औँ मिनेटमा मैदान प्रवेश गरेका थिए। त्यतिबेला एंगुइला ५–० ले पछाडि थियो।
स्किपियोको कपाल निकै लामो छ। उनको ड्रेडलक शैलीको कपाल खुट्टाको गोलीगाँठासम्म पुग्ने भएकाले खेलका क्रममा उनले त्यसलाई कम्मर वरिपरि बेरेर बाँध्ने गरेका छन्।
मैदान प्रवेश गरेको तीन मिनेटमै एन्टिगुवा एन्ड बारबुडाका केओन ग्रिनले स्किपियोको कपाल तानेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए।
त्यसपछि अर्का एन्टिगुवा एन्ड बारबुडा खेलाडीले पनि स्किपियोको कपाल तानेपछि उनले समेत रातो कार्ड पाए। लगातार दुई खेलाडीले रातो कार्ड पाएपछि एन्टिगुवा एन्ड बारबुडा ९ खेलाडीमा सीमित भयो।
खेलमा स्किपियोको प्रवेशपछि उनको कपाल नै चर्चाको विषय बनेको थियो। कपाल तानेकै कारण दुई खेलाडीले रातो कार्ड पाएपछि यो घटना अन्तर्राष्ट्रिय फुटबलको निकै अनौठो घटनामध्ये एक बनेको छ।