प्रधानमन्त्री स्वदेश फर्किँदा तीन मन्त्रीले गरे स्वागत, देखिएन विमानस्थलमा तामझाम

0 Shares

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह शनिबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री खडक राज पौडेल (गनेस) स्वागत गरेका छन्।

कतारको दोहा हुँदै काठमाडौं आइपुगेका प्रधानमन्त्रीको स्वागतका लागि तीन मन्त्री विमानस्थल पुगे पनि विगतमा प्रधानमन्त्री स्वदेश फर्किँदा देखिने गरेको औपचारिक तामझाम भने यसपटक देखिएन ।

प्रधानमन्त्री शाह असोज ६ गते संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका थिए। प्रस्थानका क्रममा पनि विमानस्थलमा औपचारिक बिदाइ समारोह, गार्ड अफ अनर तथा रेड कार्पेटको व्यवस्था गरिएको थिएन।

प्रधानमन्त्री स्वदेश फर्किँदा पनि त्यस्तै सादगीपूर्ण शैली देखिएको हो। तीन मन्त्रीले प्रधानमन्त्रीलाई स्वागत गरेपछि उनी विमानस्थलबाट बाहिरिएका थिए। प्रधानमन्त्री शाहको प्रधानमन्त्री बनेपछिको यो पहिलो विदेश भ्रमण हो। उनी १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएका थिए।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए। त्यसपछि उनले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका थिए।

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा पछिल्लो समय देखिएको जलवायुजन्य विपत्तिको विषयलाई प्रमुखताका साथ उठाएका थिए। उनले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमालयको सुनामी’का रूपमा प्रस्तुत गर्दै जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गरेका थिए।

नेपालले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो मूल्य चुकाइरहेको उनको भनाइ थियो। हिमनदी पग्लिने, पहाडी ढलान अस्थिर हुने, बाढी तथा पहिरोको जोखिम बढ्ने र त्यसबाट जनधन तथा पूर्वाधारमा क्षति पुग्ने विषय उनले उठाएका थिए।

सम्बन्धित समाचार