‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड’को इकाई निष्कासन तथा बिक्री खुला

0 Shares

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज असोज ७ गतेदेखि नयाँ म्युचुअल फण्ड ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड’को इकाई निष्कासन तथा बिक्री खुला गरेको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो। कुल निष्कासनमध्ये बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ।

बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

फण्डको इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्।

एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनामा असोज १३ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासनको अवधि असोज २१ गतेसम्म थप गर्न सकिने व्यवस्था रहेको छ।

निष्कासन अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ४ करोड इकाई खरिदका लागि आवेदन प्राप्त भएमा इकाई बाँडफाँट गर्न सकिनेछ। तोकिएको न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिने क्यापिटलले जनाएको छ।

फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड नै रहेको छ। १० वर्ष अवधिको यो फण्ड बन्दमुखी योजना हो।

फण्डको इकाई खरिद गर्न धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ। त्यस्तै, मेरो सेयरको वेबसाइट तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार