कास्की । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलगायत सरोकारवालासँग पर्याप्त संवाद गर्नुपर्ने बताएका छन् ।
लेखनाथ उद्योग वाणिज्य सङ्घको ३०औँ वार्षिक साधारणसभाको शनिबार पोखराको लेखनाथमा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी आर्थिक गतिविधि चलायमान बनाउनका लागि निजी क्षेत्र सरकारलाई सहयोग गर्न तत्पर रहेको बताए ।
‘सरकारले अर्थतन्त्रका समस्या पहिल्याउन सक्नुपर्छ। सही दिशा पहिल्याउन सकेपछि मात्र समस्या हल हुने हो र देशले आर्थिक रूपमा गति लिनसक्छ। निजी क्षेत्र सरकारलाई सहयोग गर्न सधैँ तयार छ,’ अध्यक्ष श्रेष्ठले भने ।
चालू आर्थिक वर्षको बजेट आएको तीन महिना बितिसक्दा पनि कार्यान्वयनले अपेक्षित गति लिन नसकेको उनले उल्लेख गरे । संविधान संशोधनका सन्दर्भमा महासङ्घले प्रधानमन्त्री कार्यालयमा सुझाव पेस गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । कृषियोग्य जमिन संरक्षणका लागि औद्योगिक, व्यापारिक, आवासीय र कृषि क्षेत्र छुट्याउने भूउपयोग नीति तत्काल आवश्यक रहेको उनले बताए ।
महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सरकारले महासङ्घजस्ता संस्थालाई संस्थागत महत्व दिनुपर्ने भन्दै निजी क्षेत्रका माग सुनुवाइका लागि महासङ्घले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले हालैको भोटेकोशी नदीको बाढीले अर्थतन्त्रमा थप असर गरेको उल्लेख गरे । सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीले विगत एक वर्षका अवधिमा सङ्घ, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी सीपमूलक तथा रोजगारी सृजना गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताए ।