आज यी तीन प्रदेशमा भारी वर्षा हुने, सतर्क हुन आग्रह

0 Shares

काठमाडौं । नेपालमा हाल मनसुनी वायु र पश्चिमी वायुको संयुक्त आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस मौसमी प्रणालीका कारण आज देशका तीनवटा प्रदेशमा भारी वर्षाको उच्च सम्भावना रहेको छ ।

महाशाखाले आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित भारी वर्षा हुन सक्ने भन्दै विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा तराईका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्छ ।

राति कोशी प्रदेश र देशका अन्य पहाडी भूभागमा मौसम साधारणतया बदली रहनेछ। कोशी र गण्डकीका पहाडी क्षेत्र तथा बागमतीका थोरै स्थानमा राति पनि चट्याङ्गसहित मध्यम वर्षा जारी रहनेछ ।

केही स्थानमा भारी वर्षा र चट्याङ्गका कारण पहाडी तथा हिमाली क्षेत्रमा गेग्रान बहाव, बाढी र पहिरोको जोखिम रहन सक्ने भएकाले महाशाखाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपास रहने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार