हर्षोल्लासका साथ ११ औँ संविधान दिवस मनाइँदै

0 Shares

काठमाडौं । नेपाली इतिहासकै युगान्तकारी उपलब्धि मानिएको जननिर्वाचित संविधानसभाबाट ‘नेपालको संविधान’ जारी भएको ११ वर्ष पूरा भएको छ । यसै दिनको स्मरणमा आज देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाइँदै छ ।

वि.सं. २०७२ साल असोज ३ गते जारी भएको संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत स्वरुप दिएको स्मरणमा हरेक वर्ष यो दिवसलाई राष्ट्रिय गौरवका रुपमा मनाउने गरिन्छ ।

आजको विशेष दिनमा राजधानीको सैनिक मञ्च टुँडिखेलमा राज्यका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा मुख्य राष्ट्रिय समारोह आयोजना गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि, तीनवटै सुरक्षा निकायको मार्चपास र विभिन्न जातजातिको संस्कृति झल्कने आकर्षक झाँकीले सैनिक मञ्चलाई उत्सवमय बनाएको छ ।

काठमाडौं उपत्यकासहित देशका प्रमुख सहर, व्यापारिक केन्द्र र सरकारी कार्यालयहरूलाई राष्ट्रिय झण्डा तथा बत्तीले सजाइएको छ । सरकारको अपिलअनुसार असोज २ गतेदेखि नै विदेशस्थित नेपाली दूतावास, नियोगहरू र सर्वसाधारणले आ-आफ्नो घरमा राष्ट्रिय झण्डा फहराउने र साँझ दिपावली गर्ने क्रम जारी छ ।

काठमाडौँ बाहिर सातै प्रदेशका राजधानी र स्थानीय तहहरूमा पनि प्रभातफेरी, सरसफाइ, खेलकुद प्रतियोगिता तथा विचार गोष्ठीहरू आयोजना भइरहेका छन् । संविधान कार्यान्वयनको ११ वर्ष पुग्दै गर्दा राजनीतिक वृत्त र नागरिक समाजमा यसका सबल पक्षको स्वागत र केही प्रावधानहरूको संशोधनको आवश्यकतामाथि नयाँ बहस पनि सुरु भएको छ । ऐतिहासिक राष्ट्रिय उत्सवको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ ।

सम्बन्धित समाचार