सुनसरी । प्रहरीले एक अर्ब ५७ करोड ६४ लाख रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको आरोपमा विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साह छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विभिन्न व्यक्तिले हुण्डी कारोबार गर्दै आएको सूचनाका आधारमा शंकास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गरिएको थियो। त्यस क्रममा शम्भुप्रसाद र सुरजप्रसादले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी ठूलो रकम हुण्डीमार्फत कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले कुल एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३४० रुपैयाँ बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
पक्राउ परेका दुवै जनामाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुर, संगठित अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको सूचना अधिकारी खड्काले बताए।