काठमाडौं । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ ।
शुक्रबार बिहान कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। पछिल्लो तीन घण्टामा संखुवासभाको टासीगाउँमा २७.९ मिलिमिटर, ताप्लेजुङको तापेथोकमा १०.४ र लुङथुङमा ७.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।
यसैगरी, गएको २४ घण्टामा झापाको चन्द्रागिरि एयरपोर्टमा ११२.२, अनारमनी बिर्तामा ८९.६, उदयपुरको गाईघाटमा ८६.८ र संखुवासभाको टासीगाउँमा ८२.८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।
दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।
त्यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका धेरै स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने छ । साथै, कोशी र गण्डकीका पहाडी भू-भागका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।